हात्ती महोत्सवमा तीन लाख रुपैयाँ नाफा

|

चितवन : चितवनको रत्ननगरस्थित सौराहामा पुस ११ देखि १४ सम्म भएको हात्ती महोत्सवमा तीन लाख रुपैयाँ नाफा भएको छ। 

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ गतेदेखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले तीन लाख तीन हजार ८४५ रुपैयाँ नाफा भएको जनाएको हो।

चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा सहकोषाध्यक्ष गंगा गिरीले हात्ती महोत्सवमा कुल ३८ लाख ७८ हजार ७०० रुपैयाँ आम्दानी भएको र ३५ लाख ७४ हजार ८५५ रुपैयाँ खर्च भएको जानकारी दिए।

धेरै हात्तीका गतिविधिहरू समेटेर आयोजना हुने चितवन हात्ती महोत्सव नेपालकै पहिलो र एक मात्र महोत्सव हो। उक्त महोत्सवमा हात्ती दौड, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी, हात्ती शृंगार, हात्तीको पिकनिकलगायतका कार्यक्रम भएका थिए। 

उक्त अवसरमा क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले यस वर्ष चितवनको पर्यटन विकासका लागि छिमेकी जिल्लासहित भारतमा समेत प्रचार अभियान सञ्चालन गरिने बताए।

नेपाल पर्यटन बोर्ड, रत्ननगर नगरपालिका तथा विभिन्न संघसंस्थाको सहकार्यमा पर्यटन प्रचार अभियान  हुने जनाइएको छ। अहिलेसम्म सौराहामा ३० प्रतिशत आन्तरिक पर्यटक आएकाले यसलाई ५० प्रतिशत बनाउन सके पनि पर्यटन व्यवसाय फस्टाउने घिमिरेको भनाइ छ। 

चितवनको सौराहामा सुविधायुक्त ११० होटल छन् भने करिव ६० वटा रेष्टुरेण्ट छन्। यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्नसक्ने क्षमता छ। चितवनमा वार्षिक करिव दुई लाख पर्यटक आउने तथ्यांक छ।

क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै सौराहालाई नमुना पर्यटन क्षेत्रको रूपमा विकास गर्ने योजना अघि सारिएको जानकारी दिए। 

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए। क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष हरिभक्त घिमिरेले सौराहाको स्वरूपमा एकरूपता ल्याई पर्यटन विकास गर्नेुपर्ने आवश्यकता औँल्याए। 

संघको साधारणसभामा १७ लाख १५ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन सचिव दामोदर रेग्मीले प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.