|

काठमाडौं : प्रदेश प्रमुखहरुको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई राष्ट्रपति भवन शीतलनिवास प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेका छन्।

चार बजे प्रदेश प्रमुखहरूको शपथग्रहण कार्यक्रम राखिएको थियो। उक्त ऐतिहासिक कार्यक्रमको फोटो क्यामेरामा कैद गर्न तीन बजे नै राष्ट्रपति भवनको बाहिरी ढोकाबाट प्रवेश गरेका पत्रकाहरूलाई अन्तिम समयमा कार्यक्रमको फोटो खिच्न दिइएन।

सँगै गएका सरकारी सञ्चारमाध्यमका पत्रकारहरुलाई भने फोटो खिच्न र समाचार संकलन गर्नका लागि प्रवेश दिइएको थियो। राष्ट्रपति कार्यालयको उक्त बन्देजको फोटो पत्रकारहरूले विरोध जनाएका छन्। फोटो पत्रकारहरूले क्यामेरा भुइँमा राखेर विरोध जनाएका थिए। फोटो पत्रकारहरुले राष्ट्रपति कार्यालयका तस्बिर अबदेखि नखिच्ने भन्दै बहिष्कारसमेत गरेका छन्।

बाहिरी गेटबाट प्रवेश दिएर एकघण्टासम्म मिडिया सेन्टरमा कुर्न लगाएर कार्यक्रम सुरु हुनेबेला प्रवेश नदिएपछि पत्रकारहरु र राष्ट्रपति निवासका सुरक्षाकर्मीबीच भनाभन समेत भएको थियो। पत्रकारहरूले प्रेस संयोजकलाई बोलाइदिन आग्रह गर्दा पनि उनीहरूको माग सम्बोधन भएन। 

राष्ट्रपति निवासबाट विशेष कार्यक्रमका फोटो खिच्न नपाएर पत्रकारहरू फर्किनुपरेको यो पहिलो घटना भने होइन। यसअघि, पनि पटकपटक पत्रकारहरूलाई राष्ट्रपति भवनमा फोटो खिच्नबाट रोक लगाइएको थियो। 

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएपछि फोटो पत्रकारहरूलाई राष्ट्रपति भवनमा हुने कार्यक्रमहरूको फोटो खिच्नमा निषेध गरिएको अनुभव पत्रकारहरूले सुनाएका थिए।

हेर्नुहोस्, राष्ट्रपति भवनअगाडि क्यामेरा डाउन गरेका फोटोहरू:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.