|
फाइल फोटो

चितवन : राती ६ घण्टा बन्द गरेर भित्तो काट्ने काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड अब दिउँसो बन्द गरिने भएको छ। रातीको काम प्रभावकारी नभएकाले दिउँसो बन्द गरेर निर्माणलाई तीब्रता दिन लागिएको बताइएको छ। 

माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गर्ने जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार सरोकारवालाबीच भएको छलफलले निर्णय गरेको हो। 

माघ १३ गतेबाट बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिने नारायणगढ–मुग्लिक सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए। 

गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राती १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ। बीचमा पुस २९ गतेबाट माघ २ गतेसम्म माघे संक्रान्ति पर्वका कारण बाटो नरोकिए पनि पुनः माघ ३ गतेदेखि बाटो रोकेर काम गरिँदै आएको छ। 

रातीको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ। यसका कारण दिनको काम पनि प्रभावित भएको छ। आयोजनाका प्रमुख यादव राती सवारी रोक्दा राती र दिउँसो दुवै समयमा काम हुन नसकेको बताउँछन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले राती सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेको जानकारी आएपछि पुनः दिउँसो नै सवारी रोकेर काम गर्न लागिएको बताए।

उक्त सडकको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ। हालसम्म उक्त सडक खण्डको ७२ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.