|

चितवन : प्रदेश राजधानी आफ्नो स्थानमा हुनुपर्ने मागसहित आन्दोलन भइरहेका बेला चितवनवासीकाे भने आफ्नो क्षेत्रलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड छ।

चितवन प्रादेशिक राजधानी हुने अथाह सम्भावना भएको जिल्ला रहेको चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अधिवक्ता कृष्णभक्त पोखरेलको भनाइ छ। तर, सरकारले हेटौडालाई अस्थायी राजधानी तोक्यो। यसमा चिवतनवासीको कुनै आपत्ति रहेन। ‘चितवनलाई अब आर्थिक विकासको शहर बनाउँछौं,’ सांसद पोखरेल भन्छन्, ‘राजधानी  हुँदैमा विकास हुन्छ भन्नु भ्रम हो।’ 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड'ले गत पुसमा भएको एक कार्यक्रममा चितवनलाई आर्थिक क्षेत्रको राजधानी हुनेमा कसैले रोक्न नसक्ने बताएका थिए। केरुङमार्ग, रेल्वे तथा विभिन्न महत्त्वपूर्ण विकासका कार्यक्रमहरू चितवन छोएरै जाने भएकाले चितवन आर्थिक विकासको हब बन्ने उनले दावी गरेका थिए।

चितवन कांग्रेसका जिल्ला सचिव उत्तम जोशी पनि चितवनलाई प्रदेश राजधानी बनाउनुपर्छ भन्ने पक्षमा छैनन्। जोशी भन्छन्, ‘चितवनलाई कृषि, औद्योगिक र मेडिकल सिटीको रुपमा विकास गर्नुपर्छ ।’

भौगोलिकरुपमा हेटौडा प्रदेश राजधानीका लागि अमिल्दो भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको मत छ। तर, त्यसको विरोध गर्नुभन्दा त्यहाँबाट सेवा लिंदै चितवनलाई आर्थिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ।

हुन त यहाँ आर्थिक गतिविधिले तीव्रता पाउन थालेको लामो समय भैसकेको छ । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रकाे निर्माण तीव्र गतिमा अघि बढिरहेकाे छ । शक्तिखोरमा औद्योगिक क्षेत्र बन्ने क्रममा छ । 

चितवन विकासको गुरुयोजना समेत निर्माण भैसकेकाले यसलाई ध्यान दिएर विकासलाई तीव्ररुपमा अघि बढाउनु आवश्यकता रहेको गुरुयोजना निर्माण समितिका संयोजक तथा चितवन क्षेत्र नं. २ का प्रदेशसभा सदस्य विजय सुवेदी बताउँछन् ।

दूध, माछा, केरा, खाद्यान्नका साथै पर्यटनमा पनि अग्रणी जिल्ला हो चितवन। नेपालकै तेस्रो पर्यटकीय गन्तव्यरुपमा रहेको चितवनका हरेक क्षेत्र पर्यटकीय सम्भावना भएकाले पर्यटन, कृषि क्षेत्रको विकास गरी नमुना पर्यटकीय गन्तव्य बनाई आर्थिक क्षेत्र बनाउन सकिने सम्भावना रहेको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.