|

चितवन : चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक क्यामरा हराएका छन्। बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका अत्याधुनिक स्वचालित क्यामेरा हराएका हुन्।

हराएका क्यामरामध्ये कतिपय मान्छेले चोरेर लगेको र कतिपय हात्तीले झिकेर फुटाउने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। ‘कतिपयले के रहेछ भनेर लाने गरेको पाइयो,' अर्यालले भने, 'केही तस्करले लगेको आशंका छ।'

निकुञ्जका अनुसार पर्सा क्षेत्रको पहिलो ब्लकमा ३४ वटा क्यामेरा हराएका छन्। यस्तै, ब्लकमा २६ र तेस्रो ब्लकमा ७ वटा हराराएका छन्। तीमध्ये २५ वटा हात्तीले फुटाएको र २ वटा बाघले लगेको ‍‍जनाइएको छ। हराएकामध्ये ४० वटा मानिसले लगेको निकुञ्ज कार्यालयले बताएको छ।  तीमध्ये तीन वटा फिर्ता आएको छ।

बस्ती नजिक राखिएकाले बालबालिकाले खेलौना भनेर पनि लानुका साथै कतिपय स्थानीयले नयाँ कुरा देखेर पनि लाने गरेको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तया सूचना अधिकारी अशोक रामले बताए।

दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ सुरु भएको दुर्लभ पाटे बाघको गणना (अनुगमन) अन्तर्गत चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा ब्लक छुट्याएर अनुगमन भैरहेको छ। ती ब्लकमा करिव ६०० वटा क्यामरा प्रयोग भएका छन्।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईका अनुसार अहिले चितवन–पर्सा कम्प्लेक्समा बाघको अनुगमन अन्तिमतिर पुगेको छ। सामुदायिक वन क्षेत्रमा समेत बाघ गणना भइरहेकाले त्यस क्षेत्रमा सर्वसाधारणको पहुँच हुने हुँदा क्यामेरा हराउने क्रम बढेको छ। तर, हराएका स्थानमा तत्कालै नयाँ क्यामरा राख्ने गरिएकाले गणनामा प्रभाव नपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत एवं बाघ अनुगमनको नक्सांकन हेर्दै आएका बाबुराम लामिछानेले बताए।

चितवन र पर्सामा अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट मंसिर १४ गतेदेखि बाघको गणना भैरहेको छ। यसअघि सन् २०१३ मा भएको गणनामा नेपालमा १९८ बाघ रहेको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.