|

चितवन : बाँदरमुढे घटना पीडितहरूको समस्या समाधान तथा राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले पीडितहरूको लगत संकलन थालेको हो। समितिका सदस्य एवं बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले विगतका विवादलाई थाँती राख्दै लगत संकलन थालिएको बताए।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडित पक्षले गरेको सहमतिअनुसार लगत संकलनको काम सुरु भएको हो। केही पीडितले भने सो सहमतिको विरोध गरेका थिए।

‘विगतको हाम्रो लडाईं जारी छ, तरपनि राहतका लागि पहल त गर्नुपर्‍यो,’ अध्यक्ष न्यौपानेले भने, ‘अब यावत समस्यालाई लिएर छलफल अगाडि बढाउनुपर्छ।’

गत मंसिरमा माओवादी केन्द्र र पीडित परिवारबीच  भएको तीन बुँदे सहमतिमा भएको थियो। जसमा मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार र नसक्नेलाई जीवनवृत्ति तथा बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेहरूको औषधी उपचारसँगै काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार तथा नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। यस्तै, घटनास्थलको १० बिगाहा क्षेत्रमा स्मारक र नमुना संग्रहालय बनाइने तथा माडीमा चिडियाखाना निर्माण गरी पर्यटकीय स्थल बनाउने पनि उल्लेख छ।

सो सहमतिको कार्यान्वयनका लागि पीडित, माओवादी केन्द्र र माडी नगरपालिका सम्मिलित समिति निर्माण भएको थियो। नगर प्रमुख ढकालको नेतृत्वमा बनेको समितिमा माओवादी केन्द्रका तीन र पीडिततर्फका तीन जना रहेको छन्। समितिले घरघर पुगेर पीडितहरूको अवस्था र चाहनाबारे अध्ययन गरिरहेको छ। उक्त प्रतिवेदन केन्द्रमा पेश गर्ने गरी काम सुरु गरिएको स्थानीय गोविन्द न्यौपानेले बताए।

तत्कालीन नेकपा माओवादीले ०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबहाक बसमा बम विष्फोट गर्दा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए। घाइतेमध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.