|

सौराहा : बाँसका कुहिन लागेका भाटा तेर्स्याएर त्यसमाथि च्यातिएको त्रिपाल बेरेको घर, राती तपतप शीत चुहिने छानो, भित्र एक जना मात्रै बल्लतल्ल बस्न सकिएला। भित्र आगो फुक्यो भने ज्वाला सोझै त्रिपाल छेडेर निस्कने अवस्था छ। टेकोले घर अड्याइएको छ। यस्तो कष्टकर जीवन बित्दै छ वर्षौंदेखि चितवनको रत्ननगर नगरपालिका– ७ की बैशाखी माझी (मुसहर)को।

यहाँका दुई दर्जन बढी मुसहर परिवारको दैनिकी यस्तैयस्तै छ। तिनैमध्येकी एक बैशाखी जस्ताहरूको जीवन अत्यन्तै कष्टकर छ। राम्रो घर नभएको र कोठा पनि नभएकाले परिवारमा सासु, ससुरा छोरी, बुहारी, छोरा सबै एकै स्थानमा सुत्नुपर्ने बाध्यता छ। 

यसरी कष्टकर जीवन गुजार्ने उनीहरूका लागि भने अहिले ‘नमुना बस्ती’ बन्ने खबरले मुसहरहरू फुरुङ्ग छन्। ‘घर बन्छ रे अब हाम्लाई’, बैशाखीले अनुहार उज्यालो पार्दै भनिन्, ‘बनेपछि नयाँ घरमा बस्ने।’

यहाँका मुसहरहरूलाई चितवनका विभिन्न छवटा रोटरी क्लबको अगुवाइमा नयाँ घर बन्न लागेका छन्। रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटले ‘रोटरी मुसहर नमुना गाउँ’ बनाउन सुरु गरेका हुन्। 

शुक्रबार रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ का डिष्ट्रिक्ट गभर्नर संजय गिरीद्वारा शिलान्यास भएको छ। नमुना बस्ती चार महिनामा पूरा गर्ने योजना रहेको रोटरी क्लब इन्टरनेशनल जोन २० का सहायक गभर्नर तथा कार्यक्रम संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

मुख्यगरी  सुरुमा अति कष्टकर जीवन गुजार्दै आएका १२ परिवारका लागि घर निर्माण हुन लागेको छ।  त्यसपछि छवटा घर थपेर १८ घर निर्माण गर्ने योजना रहेको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए।

यस्तो बन्छ घर
एउटा घरमा किचनसहित तीनवटा कोठा हुन्छन्। शौचालय एउटा छ। बाल उद्यान समिति सामुदायिक भवनसमेत निर्माण गरिनेछ। नमुना बस्ती बनाउने योजनासहित शुक्रबारबाट काम थालिएको रोटरियन पूर्ण रिजालले बताए।

यसका लागि प्रति घर तीन लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। घर निर्माणको खर्च विभिन्न रोटरी क्लब र रोटरियनबाट प्राप्त भएको छ। मुख्यगरी कुल लागतको ५० प्रतिशत रकम हस्तबहादुर भट्ट प्रतिष्ठानले व्यहोर्ने छ। 

अन्यमा इन्टरनेशनल ३२९२ बाट दुई लाख, पूर्व सांसद उमेश श्रेष्ठबाट तीन लाख, रोटरी क्लब अफ काठमाडौं मेट्रोबाट दुई लाख, आयोजक छवटा रोटरी क्लबबाट एक एक लाख, प्रकाश अर्यालको अग्रसरतामा तीन लाख, एनआरएनए जापानका विष्णु भट्टराईबाट एक लाख आठ हजार रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ। 

चितवनको सौराहा नजिकै रतननगर– ७ को मालपुरमा २६ जना मुसहरको नाममा खरिद भएको १५ कठ्ठा सात धुर जग्गामा उक्त नमुना बस्ती बनाउन लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.