|

चितवन : चितवनको माडीस्थित बाँदरमुढे घटनामा परी मृत्यु भएकालाई सरकारले शहीद घोषणा गरेकामा पीडित समितिले स्वागत गरेको छ।

समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले शुक्रबार एक विज्ञप्ति जारी गरी सरकारी निर्णयको स्वागत गरेका हुन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाँदरमुढे घटनामा परी मृत्यु भएका ३८ जनालाई शहीद घोषणा गरेको थियो। 

२०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन नेकपा माओवादीद्वारा यात्रुबाहक बसमा गरिएको बम विस्फोटमा ३८ जनाको मृत्यु भएको थियो। त्यस घटनामा ७२ जना घाइते भएका थिए। पछि उपचारका क्रममा थप ४ जना घाइतेको समेत ज्यान गइसकेको छ। 

‘मृतकलाई शहीद, घाइतेलाई पूर्ण उपचार, राहत दिने भनी नेपाल सरकारले माघ ११ गते गरेको निर्णयको पूर्ण स्वागत गर्दै आगामी दिनमा पीडकलाई सजाय र पीडितलाई न्याय तथा परिपूरण दिन एवम् यस घटनामा परेका घाइतेहरूको पुनर्मूल्यांकन गर्नतर्फ पनि ध्यान जाओस्’, न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

नेपाल सरकारले बनाएका दुईवटा आयोगलाई पूर्ण रूपमा सहयोग गरी पीडितको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्नसमेत न्यौपानेले माग गरेका छन्। घटनापछि माओवादी तीन पटक मन्त्री हुँदासमेत घटनाको विषयमा केही नगरेको विज्ञप्तिमा भनिएको छ।

यता, चितवनमा गठित समस्या समाधान समितिले घटनाका पीडितहरूको लगत संकलन थालेको न्यौपानेले बताए। माडी नगरपालिका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा बनेको समितिले काम थालेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.