|

चितवन : राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कलकलाउँदो थियो मयूरे (गैंडाको केटो)। मानिससँग लहसिने र खेल्ने भएकाले सबैले मन पराउँथे। ऊसँग पर्यटकले सेल्फी लिन्थे। गएको साउन २८ गते आएको बाढीको डुबानमा परेपछि गैंडाको बच्चा ‘मयूरे’ बाँचेन। असोजमा रोग लागेर मृत्यु भयो।

०७३ भदौमा आमा छोरा नै नारायणीले बगायो। आमा र छोरा छुट्टाछुट्टै स्थानमा पुगेर निस्किए। उक्त केटोलाई एक्लो भेटियो। त्यसपछि उपचार गर्न चितवनको सौराहामा ल्याइएको थियो। ‘मयूरे तन्दुरुस्तै थियो, बाढीपछि एक्कासि रोग देखियो र १०४ सम्म ज्वरो आयो, अनि मर्‍यो,’ चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले भने। नवलपरासी अमलटारीको मयूरे वनस्थित नदी किनारमा फेला पारिएकाले यसलाई ‘मयूरे’ भनिन्थ्यो।

पश्चिम चितवनको मेघौलीबाट २२ भदौमा उद्धार गरिएको अर्को गैँडाको बच्चा (केटो)को पनि उपचार सफल हुन सकेन। १४ कात्तिकमा मृत्यु भयो। बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा ल्याइएको अन्दाजी २ वर्षको गैँडाको बच्चा(केटो) उपचारकै क्रममा मर्‍यो।

सौराहानजिकै ढुंग्रे खोलामा बाघले आक्रमण गरेर घाइते अवस्थामा भेटिएको अर्को केटो पनि सौराहामा उपचारकै क्रममा केही हप्ता अघि मर्‍यो।

चितवनको जनकौली वनमा पनि यसैगरी घाइते अवस्थामा एउटा केटो फेलापरेको थियो। फिल्डमै गएर उपचार सुरु गरिए पनि बचाउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वीसेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए।

गएको  भदौदेखि लगातार गैँडाका चार केटाको मृत्यु भयो। अहिले तन्दुरुस्त देखिएको गैँडा कतिवेला के हुने भन्नै नसकिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्।

व्यवस्थित वन्यजन्तु अस्पताल नभएको, दक्ष जनशक्तिको अभाव र अनुसन्धानको काम प्रभावकारी नहुँदा घाइते तथा उद्धार गरिएका वन्यजन्तुको उपचारमा समस्या हुँदै आएको छ।अहिले सौराहामा वन्यजन्तु अस्पताल बन्ने क्रममा भएकाले अब केही राहत हुने विश्वास वरिष्ठ पशु चिकित्सक डा गैरेको छ।

सौराहामा रमाउँदै दुई केटा

६ वटा उद्धार गरिएका केटामध्ये अहिले दुईवटा सौराहामा रमाउँदै छन्। एउटा खुला संरक्षणमा छ भने अर्को खोरमा संरक्षण गरेर राखिएको छ। ठूलोले सानोलाई हानेर मार्ने हो कि भनेर दुईवटालाई सँगै नराखिएको हो।

‘दूध, बन्दागोभी, फलफूल, गाँजर खाएर हुर्कँदै छ, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले भने, ‘अहिले दुईवटै तन्दुरुस्त छन्।’ उनले थपे, ‘ठूलो डेढ वर्षको भयो। पश्चिम चितवनको मेघौलीमा जंगल र बस्ती गर्न थालेपछि उद्धार गरेर ल्याइएको हो।’

अर्को केटो भने बाढीले बगाएर भारत पुर्याएको थियो। अर्को सानो केटो आठ महिनाको छ। यसलाई खोरमा राखेर पालनपोषण गरिँदै आएको छ। साउनमा बाढीले बगाएर भारतको  शिवपुरी गढीमा पुर्‍याएको थियो।

दिनभरि नजिकैको उखुबारीमा बस्ने र राति भएपछि घरमा गएर बाच्छोसँग बस्ने गर्थ्यो। उसको अवस्था जोखिम देखेर उद्धार गरिएको थियो। अहिले दुईवटै गैँडा सौराहामा रमाउँदै छन्। कुनै दिन एक्कासि बिरामी पर्यो भने यस्ता ठूला वन्यजन्तुहरु बचाउन भने सकस हुने गरेको छ।

नेपालमा जुनसुकै क्षेत्रमा गम्भीर प्रकृतिका यस्ता जनावर उद्धार गरेर चितवन ल्याइन्छ। चितवन र बर्दिया तथा राष्ट्रिय चिडियाखानामा यस्ता वन्यजन्तुको उपचार प्रयास हुन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.