|

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले  सरकारका निर्णयले जनमतको खिल्ली उडाएको बताएका छन्। प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले सरकारले गरेका पछिल्ला निर्णय कांग्रेसको लोकतान्त्रिक चरित्रविपरीत भएको बताए। उनले भने, ‘यस्ता निर्णयले नेपाली कांग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो।’

उनले भने, ‘दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा त्यसले घाटा कांग्रेसलाई हुन्छ।’ अहिलेको कामचलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको बताउँदै दाहालले कतिपय निर्णयहरु अब बन्ने सरकारले फेर्नसक्ने बताए।

उनले भने, ‘सबै उल्ट्याउने भन्ने हुँदैन। औचित्यका आधारमा सही छन् भने कायम रहन्छन्।’ उनले अगाडि थपे, ‘कतिपय निर्णय दीर्घकालीन असर पर्ने र कामचलाउ सरकारको परिधिभन्दा बाहिर भएका छन् ती निर्णय नयाँ सरकारले फेर्न सक्छ।’

एमालेले केही दिनअघि सरकारका पछिल्ला काम कारबाहीका विषयलाई लिएर गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेका धारणा नै माओवादी केन्द्रको पनि आधिकारिक धारणा भएको दाहालको भनाइ छ। उनले एमालेको पत्रकार सम्मेलनमा आफू चाहँदा चाहँदै पनि कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको बताए।

सरकारले चितवनको बाँदरमुढे घटनामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेकोमा आपत्ति नभए पनि कामचलाउ सरकारले यस्ता अनावश्यक काम नगरेको राम्रो हुने दाहालले बताए। दाहालले जसको नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी सहिद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताए। दाहालले भने, ‘त्यसको एउटा मापदण्ड बनाएर त्योभित्र रहेर मात्रै सहिद घोषणा गर्नु राम्रो हुन्छ।’

फरक प्रसंगमा दाहालले सरकार गठनभन्दा पहिला एमाले र माओवादी केन्द्रबीच पार्टी एकता टुंग्याउने क्रममा आफूहरु रहेको बताए।

उनले भने, ‘सरकार त गठन हुन्छ नै पार्टी एकता त्योभन्दा अगाडि नै होस् भन्ने आफ्नो चाहना छ।’ उनले अगाडि थपे, ‘मेरो कोसिस भन्नुहुन्छ भने त सरकार गठनभन्दा अघि नै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ। हामीले गरेको प्रतिबद्धताअनुसार पनि हुन्छ।’ आजभोलि नै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले बताए।

छिट्टै दुवै पार्टीको अध्यक्ष तहमा पनि गम्भीर ढंगले छलफल गरिने बताउँदै दाहालले भने, ‘आज फर्किएर गएपछि पार्टी एकता संयोजन समितिमा पनि छलफल गरेर सरकार गठनभन्दा पहिला पार्टी एकता टुंग्याउने क्रममा हामी छौँ।’

उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने दाबी गरे। देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिस्टको एउटा बलियो केन्द्र आवश्यक रहेको दाहालले बताए।

अब बन्ने वाम गठबन्धनको सरकारमा मधेसवादी दलहरु पनि सहभागी हुने विश्वास दाहालले व्यक्त गरे। मधेसवादी दलहरुले उठाएको संविधान संशोधनको विषयमा पनि समझदारी बन्ने सम्भावना रहेको उनको भनाइ थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.