|

काठमाडौं : पाँच महिनामा एक अर्ब ४९ करोड २० लाख रुपैयाँको बिजुली चुहिएको छ। नेपाल विद्युत् प्राधिकरणले बिजुली चुहावट भएका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्दै आएको छ।
चालु आर्थिक वर्षको मंसिरसम्ममा एक सय ५१ गिगावाट आवर बिजुली चोरी भएको नेपाल विद्युत् प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बिहीबार नागरिकलाई बताए। यसको अर्थ प्राधिकरणले पाँच महिनामै डेढ अर्ब गुमाएको उनको भनाइ छ।

प्राधिकरणले चालु आवको पाँच महिनामै प्राधिकरणले ६ सय ३०.३० गिगावाट आवर बिजुली खरिद गरेको थियो। त्यसमध्ये ४७९.२६ गिगावाट आवर बिजुली बिक्री गरेको थियो  बाँकी १५०.७५ गिगावाट चुहिएर सकिएको अधिकारीले जानकारी दिए।प्राधिकरणका अनुसार पाँच महिनामा साढे तीन प्रतिशतले चुहावट घटेको छ। गत आर्थिक वर्ष २०७३- ०७४ को अत्यसम्ममा २३.९३ प्रतिशत बिजुली चुहावट भएको थियो। तर, चालु आर्थिक वर्षको मंसिरसम्ममा चुहावट घटेर २०ं.४९ बिन्दुमा आइपुगेको प्रवक्ता अधिकारीले जानकारी दिए।

एकातिर चुहावटका कारण प्रधिकारणले नोक्सानी बेहोरिरहेको छ भने अर्कोतिर उद्योगधन्दामा दिनहुँ चार घन्टा लोडसेडिङ गर्नुपरेको छ। लोडसेडिङ भएका कारण उद्योगीहरु उत्पादन कटौती गर्न बाध्य छन्। अत्यधिक बिजुली चुहावट भएर, प्राविधिक गडबडी लगायत कारणले प्राधिकरणले नोक्सानी बेहोर्नु परेको छ। चुहावट कम गर्दै गएपछि प्राधिकरणको नोक्सानी पनि कम हुँदै गएको अधिकारीको भनाइ छ।

  प्राधिकरणका अनुसार, हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले ठूलो परिणामको बिजुली चुहिएरै खेर गइरहेको छ। त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ। देशैभर अप्राविधिक चुहावट नियन्त्रण गर्ने क्रम जारी रहेको अधिकारीले बताए। ‘चुहावट नियन्त्रण गर्न अभियान चलाएका कारण करिब साढे तीन प्रतिशत बिजुली चुहिनबाट रोक्न सफल भएका हौं,’ उनले भने, ‘लोडसेडिङ नभएका कारण पनि चुहावट कम भएको हो।’

हुकिङबाट बिजुली चुहावट हुने गरेकोमा त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सफल भएको उनको दाबी छ। ‘अप्राविधिक रुपमा हुने चुहावटलाई कर्मचारी खटाएर नियन्त्रण गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक रुपमा हुने चुहावटलाई पनि क्षमता बढाएर कम गरिरहेका छौं।’‘चुहावट नियन्त्रण गर्ने काम विगतदेखि नै जारी छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अहिले विशेष ‘फोकस’ गरेरै सबै वितरण केन्द्रमा कार्यक्रम अघि बढाएका छौं।’प्राविधिक रूपमा चुहावट पूर्ण रूपमा अन्त्य असम्भव भए पनि लुकी–चोरी गरिएको चुहावट घटाउन सकिने विज्ञहरुको भनाइ छ। प्राधिकरणले चुहावट नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ। 

प्राधिकरणले कर्मचारीको मिलेमतो र हुकिङ गरी बिजुली चोर्ने एक–दुईजनालाई दिनहुँजसो पक्राउ गर्छ। विशेषगरी, बारा, पर्सा, रौतहट, नेपालगन्ज, जनकपुर, इनरुवा, सिरहा, जलेश्वर, लालबन्दी, मलंगवा, कलैया, भरतपुरलगायत क्षेत्रका व्यक्ति पक्राउ परेको प्रधिकरणको भनाइ छ।  चुहावट घटाउन २०६८ सालमा पाँचवर्षे रणनीति बनाइएको थियो, जसमा त्यतिबेला रहेको चुहावटलाई २८.३५ बाट २० प्रतिशतमा झार्ने लक्ष्य थियो।

विद्युत चुहावट नियन्त्रणलाई उत्पादनभन्दा बढी महत्व दिनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन्। चुहावट नियन्त्रण नहुनुमा कर्मचारी, भौतिक साधन र बजेट अभाव प्रमुख कारण मानिएको छ। यसैगरी, प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नुलाई कारणको रुपमा औंल्याउने गरिन्छ।चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत प्राधिकरणले पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा बिजुली चोरी गर्नेमाथि कारबाही गरेको छ।

प्राधिकरण प्रमुखमा कुलमान घिसिङ आएपछि चोरी नियन्त्रणमा आक्रामक कारबाही सुरु गरिएको हो। उनले चुहावट नियन्त्रणका लागि अभियान चलाउन निर्देशन नै दिएका छन्। मिटर नभएका ठाउँमा तत्काल जडान गर्नसमेत उनको निर्देशन छ। घिसिङ कार्यकारी निर्देशकमा आउनेबित्तिकै सुकुम्बासीलाई समेत मिटर दिन मिल्ने गरी प्राधिकरणबाट निर्णय गराएका थिए। यो निर्णयसँगै मिटर जडान गर्नेको संख्या बढिरहेको प्राधिकरणको भनाइ छ।विद्युत् महसुल तिर्न बाँकी भएकाको लाइन काट्ने कार्य जारी राख्दै चुहावट नियन्त्रण गर्ने अभियानमा प्राधिकरण लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.