रौतहट : जिल्लाका भारतीय सीमा क्षेत्रका पाँच स्थानमा रहेका छोटी भन्सार कर्मचारीविहीन छ। भन्सारमा कर्मचारी नबस्दा दैनिक ठूलो परिणामको राजस्व गुम्दै अाएको छ।
लक्ष्मीपुर बेलबिछुअवा, औरैया, रामपुरखाप, नरकटिया र बंकुल नाकामा छोटी भन्सार छन्। यीमध्ये बंकुल नाका भने कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष उत्तमकुमार उपाध्यायले बताए। उनका अनुसार कर्मचारी नहुँदा राजस्व तिर्न भन्सार कार्यालय आएका व्यापारीहरु पनि फर्केर जाने गरेका छन्। छोटी भन्सारमा सुब्बासहितको कर्मचारीहरुको दरबन्दी भए पनि कार्यालय कर्मचारीविहीन रहेको स्थानीयको गुनासो छ।
गौर भन्सार कार्यालय रौतहटका प्रमुख राजनबाबु काफ्लेले लक्ष्मीपुर बेलबिछुअवा, औरैया र बंकुल छाेटी भन्सारमा कर्मचारी खटाइएकाे बताए। नरकटिया र रामपुर खापको भन्सार कार्यालय अभिलेखमा मात्र सीमित भएको उनले जानकारी दिए। ती स्थानमा भौतिक पूर्वाधार नभएकाले कर्मचारी नपठाएको प्रमुख काफ्लेले बताए।
भन्सारमा कर्मचारी नबसेपछि तस्करलाई अवैध रूपमा सामान भित्र्याउन सहज हुँदै आएको छ। जसका कारण गौर भन्सारको राजस्व घटेको छ। भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ५ करोड २२ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। कार्यालयले चालू अार्थिक वर्षका लागि १७ करोड ४४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।