|

काठमाडाैं : इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा 'भ्रष्टाचार भएकाे' प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल अायल निगमका अधिकारीहरुले उन्मुक्ति पाउन चलखेल गर्न थालेका छन्। अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे छानबिनमा निगमका कार्यकारी निर्देशक गाेपाल खड्कालगायत अधिकारीले बिचाैलियासँगकाे मिलेमताेमा कराेडाैं रुपैयाँ घाेटाला गरेकाे भेटिएपछि कारबाहीबाट बच्न अायाेगका अधिकारीलाई प्रभावित पार्ने प्रयास थालेकाे अख्तियार स्राेतले बताएकाे छ।

अाराेपित करिब तीन सय जनासँग बयान लिएर छानबिन निष्कर्षोन्मुख बनाएकाे अनुसन्धान टाेलीले यसै साता अख्तियार प्रमुख दीप बस्न्यातलाई 'ब्रिफिङ' गरेकाे थियाे। कति बिगो दाबी गर्ने निष्कर्षमा नपुगेको भए पनि भ्रष्टाचारमा संलग्नलाई मुद्दा चलाउनुपर्ने राय अनुसन्धान टोलीले प्रमुख आयुक्तसमक्ष पेश गरेको छ। अनुसन्धान टोलीले प्रमुख आयुक्तसमक्ष यस्तो राय प्रस्ताव गरेका सूचना पाएपछि खड्काले मुद्दा नचलाईकन ‘तामेली’ मा राख्न सक्रियता बढाएका हुन्।

उच्च राजनीतिक नेतृत्व, शक्ति दलाल समूह र आयोगकै आयुक्तसँग हिमचिम भएका खड्काले प्रमुख आयुक्त बस्न्यात र अर्का आयुक्त नवीन घिमिरेलाई प्रभावमा पार्ने प्रयास गरिरहेको अख्तियार स्रोतले बतायो। खड्काले विगतमा बस्न्यात नातामा सम्धी पर्ने बताउँदै आएका थिए। अख्तियारकै अर्का आयुक्त घिमिरेसँग पनि खड्काको ‘कनेक्सन’ छ। घिमिरेलाई आयुक्त बनाउन लबिङ गर्ने शक्ति समूहले पनि खड्कालाई बचाउन सक्रियता बढाएको छ।

खड्काले कार्यकाल सकिएर यही माघ २९ गते अवकाश हुन लागेका प्रमुख आयुक्त बस्न्यातलाई प्रभावमा पारेर मुद्दा ‘तामेली’ मा राख्न अन्तिम प्रयास गरिरहेको स्रोतको दाबी छ। ‘आयोगको अनुसन्धान टोलीले निगमलाई जग्गा किन्दा भ्रष्टाचार गरेको तीन सय पृष्ठको प्रतिवेदन तयार गरिरहेको छ,’ स्रोतले भन्यो, ‘तर, प्रमुख आयुक्तमाथि मुद्दा नचलाउन दबाब छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.