प्रधानमन्त्रीको व्यवहार हेरेर सम्बन्ध निर्धारण
प्रधानमन्त्रीको व्यवहार हेरेर सम्बन्ध निर्धारण
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपति कार्यालयले देउवा नेतृत्वको सरकार र ओली नेतृत्वको सरकारलाई २ किसिमको चस्माले हेरेको प्रतिक्रिया दिएको छ। राष्ट्रियसभामा अघिल्लो सिफारिस गरेका ३ जनाको नाम स्वीकृत नगरी ओली नेतृत्वको सकारले सिफारिस गरेका नाम स्वीकृत गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो।
मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै राष्ट्रपति कार्यालय जस्तो संस्थालाई विवादित पार्ने गरी निर्णय भएको प्रतिक्रिया दिएका हुन्। उनले सरकारको निर्णयले एउटै संविधान आधा सक्रिय र आधा निस्क्रिय भएको आरोप लगाए।
'संविधानको धारा ८६ उपधार २ को 'क'ले ५६ जनाको निर्वाचनसम्बन्धी व्यवस्था गरेको छ, 'ख'ले ३ जना मनोनीतको व्यवस्था गरेको छ। 'क'लाई एउटा सरकारको नेतृत्वमा र 'ख' अर्को सरकारको नेतृत्वमा हुन्छ', शर्माले भने, 'एउटै संविधान आधा सक्रिय र आधा निस्क्रिय गराएर हेर्न कसरी मिल्छ?'
प्रवक्ता शर्माले राष्ट्रपतिसँग नाम सिफारिस गरेपछि यस्तो निर्णय हुन्छ भनेर पहिले प्रतिवाद गर्न नसक्ने अवस्थामा कांग्रेस रहेकाले स्वीकृति गरेपछि आपत्ति जनाएको समेत बताएका छन्। राष्ट्रपतिको स्वीकृति संविधानको मर्म र भावनाविपरीत भएको उनले बताए। संविधानअनुसार गरिएको सिफारिसमा ढिलाइ र अर्को सरकारले गरेको नाम सिफारिस गर्नु संविधानको मर्म र भावनाविपरीत भएको शर्माको भनाइ छ।
यो निर्णयमा कांग्रेस बन्द हड्ताल जस्ता कार्यक्रम नगर्ने तर संसदमा कुरा उठाउने शर्माले बताए। तथापि यस निर्णयको विरोधमा कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीको व्यवहार र शैली हेरर सम्बन्ध निर्धारण
प्रवक्ता शर्माले सहज राजनीतिक वातावरणमा नयाँ सरकार आएकाले सरकारको व्यवहार र शैली हरेर सरकारसँगको सम्बन्ध निर्धारण गर्ने प्रतिक्रिया दिए। 'अबको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीले आफूलाई कसरी अघि बढाउन चाहानुहुन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ', शर्माले भने, 'सुरुवातमा लिने निर्णय, व्यवहार र राख्ने शैलीअनुरूप हाम्रो सम्बन्ध अघि बढ्छ'।
उनले सरकारले देखाएको व्यवहार र निर्णय शैली राम्रो नदेखिएको प्रतिक्रियासमेत दिएका छन्।
संविधान उल्लंघनको रवैया हेरेर बस्दैनौँ
प्रवक्ता शर्माले संविधानको ठाडो उल्लंघनको कांग्रेसले रवैया हेरेर नबस्ने बताए। 'कांग्रेस विनम्र तर बुलन्द प्रतिपक्ष बन्न चाहन्छ', शर्माले भने, 'अझै के कस्ता संविधान उल्लंघनका रवैया हुने हुन्, त्यो हेरर हामी चुपचाप बस्दैनौँ।'
सरकारले आफूलाई अघि बढाउँदै गर्दा विधि, विधान, न्यायिक राज्य व्यवस्थाको परिपालनामा सुरुवाती संकेत राम्रो नदेखाएको बताउँदै ध्यान दिनसमेत आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्रीको गाडीमा सर्वोच्चले खोजेको व्यक्ति
प्रवक्ता शर्माले प्रतिनिधिसभामा निर्वाचित सांसद नवराज सिलवाललाई केन्द्रित गर्दै पूर्वप्रधानमन्त्रीको गाडीमा सर्वोच्चले खोजेका व्यक्ति आए भन्ने जस्ता कुरा आउनु राम्रो नभएको बताएका छन्।
'सर्वोच्च अदालतले खोजेको व्यक्ति पूर्वप्रधानमन्त्रीको गाडीमा बालुवाटरमा आएको भन्ने कुरा आएको छ तथापि हामीसँग प्रमाण छैन', शर्माले भने, 'पूर्वप्रधानमन्त्रीले खण्डन नगरेपछि यो प्रष्ट भएको देखिएको छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।