|

डोटी : डोटी अस्पताल डोटीमा आकस्मिकबाहेकका सबै स्वास्थ्य उपचार सेवा ठप्प पारिएको छ।  

जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपिट गरेको विरोधमा सबै अस्पताल तथा मेडिकलले उपचार सेवा बन्द गरेका छन्। 

डोटीमा रहेको जिल्ला अस्पताल डोटी, शैलेश्वरी अस्पताल, चोपडा अस्पताल, सुजङ्ग अस्पतालका साथै अन्य निजी मेडिकलमा पनि आकस्मिक उपचारबाहेका सबै उपचार ठप्प पारिएको नेपाल चिकित्सक संघले जानकारी दिएको छ।

आइतबार दिपायल सिलगढी नगरपालिका– ७ पाँकरीकी वासुदेवी विष्टको उपचार गर्ने क्रममा विवाद हुँदा उनका आफन्तले डाक्टर सिंहमाथि कुटपिट गरेका थिए।

बिरामी विष्टलाई पत्थरी भएको हुन सक्ने भन्दै भिडियो एक्सरे गर्ने क्रममा डाक्टरले एक्सरे गर्ने भागको कपडा खोल्न आग्रह गर्दा उल्टै गाली गरेको डाक्टर सिंहले बताए। सिंहले भने, ‘दुई जना सिस्टर पनि त्यहीँ हुनुहुन्थ्यो, मैले एक्सरे गर्ने भागको कपडा खोल्न अनुरोध गरेँ, उहाँले कपडा नखोलेर गर्न भन्नुभयो, मैले  त्यसरी तपाईंको उपचार सम्भव छैन भनेको हुँ’, उनले थपे, ‘उहाँले रुपैयाँ फिर्ता गर्न भन्नुभयो, मैले फिर्ता पनि लेखेँ, भएको यत्ति हो।’ 

बिरामीका पक्षले भने डाक्टरले गलत दृष्टिकोणका साथ कपडा खोल्न लगाएको आरोप लगाएका छन्। वासुदेवी विष्टले भनिन्, ‘ममाथि डाक्टरले गलत ढंगबाट कपडा खोल्न लगायो, ममाथि डाक्टरले अन्याय गरेको छ।’

भिडियो एक्सरे नगरेको भन्दै विजयसिंह विष्ट, टेक विष्ट, हिक्मत विष्ट, अरुण महतले सिंहमाथि आक्रमण गरेका थिए।  डाक्टरमाथि हातपात गर्ने ४ जनाविरुद्ध सार्वजनिक मुद्दा जिल्ला प्रहरी कार्यालय डोटीमा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.