|

चितवन : प्रथा वा कुप्रथा। जस्तो सुकै ऐतिहासिक घटना आफैंमा एउटा पहिचान हो। सकारात्मक कथा समाजले अनुसरण गर्दै जान्छ, नकारात्मक कथा परिवर्तन हुन्छ। त्यही कालो समय भित्रको ‘कालो संसार’ धेरैलाई थाहा हुँदैन। कथा, कविता, उपन्यास, चलचित्र, नाटकमार्फत पर्दा उघारिन्छ। त्यसैको एउटा विम्ब हो चलचित्र ‘पंचायत’। नामै काफी छ।

२०४६ साल अघि त्यस्तै एउटा कालखण्ड थियो, पञ्चायती शासनको। २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई अपदस्थ गरी पञ्चायती शासन थाले। जुन व्यवस्थालाई इतिहासको कालो कालका रुपमा सम्झिने गरिन्छ।

पञ्चायती शासनको उग्र समय २०३१ सालतिरको एउटा गाउँको कथा निक्कै रोचक छ। जसलाई चलचित्रकर्मीहरूले पर्दामा उतार्ने प्रयास गरेका छन्।

अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको ‘सान्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा विदेशी भाषाको २१६ वटा चलचित्रलाई उछिन्दै उत्कृष्ट अवार्ड पाएको चलचित्र 'पंचायत' आगामी चैत २ मा देशैभर प्रदर्शन हुँदैछ। चलचित्रकी नायिका नीता ढुंगानाले समेत उत्कृष्ट नायिकाको अवार्ड पाउनु नेपाली सिने–उद्योगकै लागि एउटा गरिमा हो। नेपाल र नेपालीको पहिचान विश्वसामू चिनायो भन्दा फरक पर्दैन।

चलचित्रले व्यापारिक सफलता पाउला नपाउँला। ‘तर पंचायतले इतिहास साछी राख्ने काम भने पक्कै गर्छ, चलचित्रका निर्माता शुसान्त श्रेष्ठले भने, अमेरिकामा पाएको अवार्डले नै संकेत दियो, एकपटक इतिहासलाई वर्तमानमा ल्याउन पाउँदा खुसी छौं।’

पछिल्लो पटक सती प्रथामा केन्द्रित चलचित्र ‘झोला’ बन्यो। लागेको थिएन झोलालाई दर्शकले खुबै मन पराउँछन्। तर दर्शकले अथाह मायाँ दिए। सफलता लुकेन। 'पंचायत' पनि यस्तै नहोला भन्न सकिन्न।

नेपालमा विदेशी चलचित्रको आयात बढ्दो छ। हास्यव्यंग्य र ख्यालठट्टाका कथाहरू बिकेका देखिन्छन्। के हाम्रो इतिहास बिक्नु पर्दैन, नयाँ पुस्ताले त्यो कालखण्ड हेर्नु र जान्नु पर्दैन? कला संस्कृति र व्यवस्था कालखण्डका बारेमा आम–नेपालीले बुझ्नु जरुरी छैन?

‘ती दर्शकहरूका लागि हो ‘पंचायत’, जसले त्यो कालखण्डको पत्याउँनै नसकिने इतिहास हेर्न पाओस्’, चलचित्रका लेखक तथा निर्देशक शिवम अधिकारी भन्छन् । ७ वर्ष अघि बनेको स्क्रिप्ट आज आएर पर्दामा उतार्नु चानचुने कुरा होइन। अधिकारी भन्छन्, ‘निर्माताले नेपाली पहिचान चिनाउने आँट गरेकाले सात वर्षपछि भएपनि फिल्म बन्नु आफैंमा इतिहास हो।’

दर्शकले झोलापछि मौलिक नेपालीपनको कथामा आधारित चलचित्र हेर्न पाएका छैनन्। त्यो भोक अब 'पंचायत'ले मेटाउने छ। ‘५० वर्ष अघिको शासनकाल जुन आफैंमा एकतन्त्रीय थियो। ‘त्यसभित्रको नदेखिएको र नलेखिएको कथा पंचायतमा छ’, प्रस्तुतकर्ता गणेश गिरीले भने, नेपालीपन, मौलिकता र पुरानो व्यवस्थामा आधारित चलचित्रलाई दर्शकले पक्कै न्याय गर्नुहुन्छ।’

के छ त त्यस्तो नौलो यसमा। अनि नौलो र अनौठो त्यो दृष्य हेर्न चाहिँ चैत २ नै पर्खनुपर्ला। तर ट्रेलरमा देखिएका दृष्यहरूले वास्तवमै मौलिकता र पुरानो सामाजिक संरचनालाई उजिल्याएको छ। सम्वादको भाषा र दृष्यले सामाजिक व्यवस्थाले एउटा छनक दिन्छ। न्यायकर्ताको भूमिका र अवोध चेलीका दर्दले मन छुन्छ। छाउपडी प्रथा र पहिलो महिनावारी हुँदा चेलीले सहनुपर्ने त्यो जकडिएको कथित चलन र त्यसमाथि पर्ने अर्काे बज्रपात के थियो? यसैमा चलचित्र केन्द्रित भएको अनुमान लगाउन सकिन्छ।

एउटा गाउँको मुखियाको निसाफ साँच्चिकै सफा थियो कि धुमिल। यस्तै यक्ष प्रश्नको उत्तर 'पंचायत'को पर्दामा देखिने छ। कार्यकारी निर्माता रवि अधिकारी नेपाली कला, संस्कृति, परम्परा र सामाजिक व्यवस्थालाई विश्वसामू चिनाउने अग्र्यानिक फिल्म पंचायत हो भन्छन्।

‘आखिर यो पंचायतले पनि हेरोस् मेरो मृत्युको तमासा’ एउटी चेली त्यो बेलाको अग्नि परीक्षामा होमिनु अघिको अन्तिम वाक्य झंै लाग्ने ट्रेलरको संवाद आफैंमा कारुणिक छ। 

हुन त निर्माण टिमले व्यवसायिक सफलतासँग जोडेर चलचित्र नबनाएको बताउँदै आएका छन्। ७ वर्षदेखि कुनै निर्माताको आँखामा नपर्नुले पनि त्यो संकेत गर्छ। यसपटक पहिचानका लागि जोखिम उठाउने आँट गरेका छन् निर्माण टिम र कलाकारले।

मुख्य भूमिकामा रहेका नायक सरोज खनाल भन्छन्, ‘इतिहास बोकेकाले आफूले एकसुको पनि नलिई चलचित्रमा खेलेको हुँ।’

उनकै सहभागितामा अमेरिकामा प्रदर्शन हुँदा दर्शकले अत्याधिक मन पराएको र अझै प्रदर्शनको माग भइरहेको खनाल बताउँछन्। उनी भन्छन्, ‘यो चलचित्र नीताकै लागि ७ वर्ष कुर्‍यो, नीता कै लागि लेखिएको कथा हो, अरुबाट न्याय हुँदैनथ्यो।’

चलचित्रमा यौन मनोभाव र रसरङ्गले समेत भरिएको छ। ‘आइमाईको ज्यान कुन्नि के जाति हुन्छ रे है, त्यो हेर्नलाई ठिटाहरू जे नि गर्न तयार हुन्छन् रे क्या।’ यो सम्वादले पनि किशोरावस्था झल्काउँछ।

नायिका नीता फिल्मबारे भन्छिन्, ‘चलचित्र मसानपछि सबैभन्दा बढी तारिफ पाएको चलचित्र 'पंचायत' हो, जसले मलाई विश्वकै उत्कृष्ट अवार्ड दिलायो, फिल्मले कस्तो भाव बोकेको छ भन्ने त्यसैबाट झल्किन्छ।’

पश्चिम पहाडी जिल्ला बाग्लुङको पनि २-३ घण्टा हिंडेर पुग्ने ठाउँ बलेवाको एउटा गाउँमा १ महिना लगाएर चलचित्र छायांकन भएको थियो।

पुराना घर नपाउँदा निर्माण टिमलाई समस्या मात्रै परेन लगानी गरेर घर निर्माण गर्नु परेको थियो। स्थानीय गाउँलेको अपार सहयोग विना चलचित्र निर्माण सम्भवै नभएको कार्यकारी निर्माता अधिकारी अनुभव सुनाउँछन्। कलाकारले समेत जस्तो परिस्थिति आएपनि सामना गरेर फिल्ममा योगदान गरेको उनले सुनाए।

युट्यूबमा सार्वजनिक भएको ट्रेलर यो समाचार बनाउँदासम्म २ लाख १० हजारले हेरिसकेका छन्। ट्रेलरमा सकारात्मक प्रतिक्रिया आउनु सकारात्मक संकेत हो।

शंकर सुवेदीको समेत लगानी रहेको पंचायतमा नायक सरोज खनाल, नायिका नीता ढुंगानासँगै रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.