|

चितवन : आयोडिनयुक्त नुनको प्रयोगमा जोड दिँदै चितवनमा ‘आयोडिन महिना’ गाउँगाउँमा विभिन्न सचेतनामुलक कार्यक्रमका साथ मनाइएको छ। महिनाभर जिल्लामा विभिन्न कार्यक्रम गरी ‘आयोडिन मन्थ’ मनाईएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले बताए।  

सन् २०१८ को अन्त्यसम्म आयोडिन नुनको प्रयोग गर्ने घर संख्या ९५ प्रतिसतमा पुर्‍याउने सरकारी लक्ष्य अनुरुप यो पटक चितवन र नवलपुरका गाउँगाउँमा प्रचारात्मक कार्यक्रम गरेर आयोडिन महिना मनाइएको दाहालले जानकारी दिए। 

एक महिनामा पाँच स्थानमा स्कुल शिक्षा, तीन स्थानका हाटबजारमा आयोडिनको फाइदा र महत्वबारे जानकारी, पाँच स्थानमा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया, चितवनको रत्ननगर, कविलास, शिवनगर र नवलपुरका स्कुल शिक्षा, विभिन्न ग्रामीण क्षेत्रमा सचेतनामुलक कार्यक्रम तथा प्रचार सामाग्री वितरण गरिएको थियो । 

नेपालसहित १२० राष्ट्रले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएका छन्। नेपालमा पनि फेब्रुअरी १ बाट बुधबारसम्म एक महिनाको अवधिलाई ‘आयोडिन महिना’को रुपमा मनाइएको थियो।

चितवनमा जिल्ला जनस्वास्थ्य कार्यालय, चितवन मेडिकल कलेज र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनले संयुक्त रुपमा बुधबार जिल्लामा प्रभातफेरी, अन्तरक्रिया तथा विद्यार्थी बीच बक्तृत्वकला प्रतियोगिता गरेर महिनाव्यापी कार्यक्रमको औपचारिक समापन गरिएको थियो।

जनस्वास्थ्य कार्यालय चितवनको पोषण कार्यक्रमका स्रोत व्यक्ति अनुप अधिकारीका अनुसार पहाडी इलाकामा अझै आयोडिनयुक्त नुनको प्रयोगमा कमी छ।आयोडिनको कमीले गलगाँड आउने, गर्भ तुहिने, मृत बच्चा जन्मने, जन्मिएका पनि अपांग हुनसक्ने, लुलो र सूस्त बच्चा जन्मन सक्ने, मानसिक तथा बौद्धिक क्षमतामा कमी तथा आलस्यपनलगायत समस्या देखिने हुन्छ। एक स्वस्थ मानिसलाई दैनिक कम्तिमा १२५ माइक्रोग्राम आयोडिन आवश्यक पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.