कपिलवस्तु : चौथो संस्करणको लुम्बिनी पिस म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। बिहीबार श्रेष्ठले ४२ दशमलव १९८ किलोमिटर दूरीेको फूल म्याराथन २ घण्टा ५४ मिनेट ५३ सेकेण्डमा पूरा गरे।
फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा पिस म्याराथन आयोजना गरिएको थियो। फाल्गुन शुक्ल पूर्णिमालाई सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरी कपिलवस्तु फर्केको दिनका रुपमा पनि लिन सकिन्छ। बुद्धत्व प्राप्तिपछि कपिलवस्तु आउँदा बुद्धले पिता सुद्धोधनलाई पहिलो पटक भेटेको कपिलवस्तुको कुदानबाट म्याराथन सुरु गरिएको थियो।
म्याराथन प्रतियोगिता कुदान, तिलौराकोट, दोहनी, निग्लिहवा हुँदै लुम्बिनीस्थित मायादेवी बगैंचामा पुगेर समापन गरिएको थियो। त्यसैगरी म्याराथनमा नेपाली सेनाकै हरिप्रसाद रिमाल दोस्रो र खगेन्द्र भट्ट तेस्रो भएका छन्। रिमालले २ घण्टा ५७ मिनेट २४ सेकेन्डमा दौड पुरा गरे भने भट्टले ३ घण्टा ३ मिनेट ४० सेकेण्डमा रिमाललाई पछ्याउँदै तेस्रो भए। फूल म्याराथनमा प्रथम हुने श्रेष्ठले १ लाखको लुम्बिनी अशोक पुरस्कार, द्वितीय हुने रिमालले ७५ हजारको कपिलवस्तु हुएन सान पुरस्कार र तृतीय हुने भट्टले ५० हजारको मायादेवी गार्डेन उथान्त पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरे।
होमलालले भने ‘बुद्ध जन्मस्थलमा आएर उपाधि जित्दा धेरै खुशी लागेको छ।’ त्यसैगरी हाफ म्याराथनमा भारतीय सेनाका तीर्थ पुनले लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि हात पारे।
हाफ म्याराथनको २१ किलोमिटर दौडमा नेपाली सेनाका रामजी बस्नेत र टिकाराज कट्वालले क्रमशः द्वितीय र तृतीय स्थान हासिले गरे। प्रथम, दोस्रो र तृतीय हुने धावकले क्रमश ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे। त्यसैगरी १६ वर्षभन्दा मुनिको ५ किलोमिटर दौडको उपाधि सुनिल थापाले हासिल गरेका छन्। त्यस्तै संजय राई र सतेन्द्र यादवले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। प्रथम स्थान हासिल गर्ने थापाले १० हजार नगद हात पारे। दोस्रो र तेस्रो स्थान हासिल गर्ने राई र यादवले क्रमश ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
बुद्धिष्ट सर्किट्स डटकम र एडभेन्चर स्पोर्टस् टुरिजम सोसाइटीले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा ९४ जनाको सहभागिता रहेको थियो।
शान्तिका दूत बुद्धको जन्मस्थलमा आयोजना गरिएको पिस म्याराथनले नेपालमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै खेल पर्यटनको सम्भावनाको नयाँ आयाम थपेको प्रतियोगिताका परिकल्पनाकार बिक्रम पाण्डेले बताए। ‘बुद्धको दरबारदेखि जन्मस्थलसम्मको क्षेत्रभित्र अवस्थित क्रकुचन्दमुनी बुद्ध र कनकमुनी बुद्धको मातृभूमि समेटी आयोजना गरिएको दौड विश्वमै पहिलो हो, पाण्डेले भने, ‘यस्ता खाले आध्यात्मिक खेल दौडलाई निरन्तरता दिंदै धार्मिक पर्यटनमा टेवा पुर्याउने हाम्रो चाहना छ।’
सन् २०१२ बाट सुरु गरिएको प्रतियोगितामा ओलम्पिक स्टाण्डर्डको ४२ दशमलव १९८ किलोमिटरको दौड गरिएको पहिलो हो। सन् २०१३ मा आयोजित पिस म्याराथनमा दोहनीदेखि लुम्बिनी बगैंचासम्मको दूरी तय गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।