सन्दर्भ आज विश्व वन्यजन्तु दिवस

|

चितवन :  वन र वन्यजन्तुको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहकार्यविना सम्भव नहुने निष्कर्ष वन्यजन्तु विज्ञहरूको छ। विगतमा सामुदायिक वनको संरक्षण गतिविधि होस् या राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणको संरक्षणमा होस् समुदायको सक्रिय सहभागिता रहेको देखिन्छ। 

नेपालका रातमाटे डाँडाहरूमा हरियाली बनाउनमा पनि समुदायको महत्वपूर्ण भूमिका रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउँछन्। उनले भने, ‘समुदायको सहकार्यले नै निकुञ्जले एकहजार ७१ दिनसम्म सून्य चोरी शिकार वर्ष मनाउन सफल भइयो। साथै निकुञ्ज संरक्षणमा समेत समुदायसँग सहकार्य गरिन्छ।’

निकुञ्ज सुरक्षाका लागि समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान विभिन्न ठाउँमा गठन गरिएको छ। सुराकीहरू समेत समुदायबाटै परिचालन हुने गरेका छन्।

गाउँमा नयाँमान्छे आउँदा पहिले स्थानीयवासीले नै देख्छन्। त्यो सूचना निकुञ्जमा पुग्न पनि समुदायको भूमिका महत्वपूर्ण हुन्छ। महत्वपूर्ण सूचना जसले दिन्छ। त्यसलाई निकुञ्जले गोप्य रुपमा पुरस्कृत समेत गर्छ। 

समुदायको सहकार्यबाटै कतिपय गैंडा तस्करलाई पक्राउ गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउँछन्। उनी भन्छन् ‘निकुञ्ज संरक्षणमा समुदायको सहकार्यविना सम्भव छैन। 

जिल्लामा विभिन्न क्षेत्रमा मध्यवर्ती क्षेत्र घोषणा गरी दुर्लभ वन्यजन्तु, गैंडा, बाघ संरक्षण सफल भएको हो। नेपालमा सबैभन्दा बढी बाघ र गैंडा रहेको चितवन राष्ट्रिय निकुञ्ज नै हो। निकुञ्जमा विदेशी पर्यटकहरू गैंडा, बाघ हेर्न र प्रकृतिसँग रमाउनकै लागि आउने गर्छन्। 

वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान सौराहाकी अध्यक्ष डोमा पौडेल समुदायसँग सहकार्य नगर्ने हो भने चोरी सिकारी झन् बढ्ने बताउँछिन्। अहिले चितवनमा चोरी शिकार नियन्त्रणमा युवा तथा स्थानीयवासीहरूले ठूलो भूमिका खेलेको उनको भनाई छ। उनीहरू निकुञ्ज संरक्षणमा अहोरात्र खटिने गरेका छन्।

स्थानीयसँग मिलेर अहिले बटुक दल गणका सेना र निकुञ्ज कर्मचारीको संयुक्त गस्ती टोली समेत खटिने गरेको छ। स्मार्ट पट्रोलिङ, रियल टाइम पट्रोल, अपरेशन महाहन्ट लगायतका प्रविधिको प्रयोग गरेर संरक्षण प्रभावकारी गराउँदै आएको छ। 

शनिबार विश्व वन्यजन्तु दिवस देशैभरि संरक्षणका विभिन्न गतिविधि गरेर मनाईदैछ। युवाको जागरण बाघ चितुवाको संरक्षण भन्ने नारासहित कार्यक्रम मनाउन सुरु गरिएको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङ बताउँछन्। उनले भने,  ‘यस्तै शनिबार नै वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान दिवस समेत मनाइयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.