कुलेखानी (मकवानपुर) : मकवानपुरको कुलेखानी सुगौराकी सोनी तामाङ फाखेलस्थित कालिका सेकेन्डरी स्कुलमा कक्षा २ मा पढ्छिन्। गाउँमा कक्षा ३ सम्म पढेकी उनी फाखेलमा कक्षा २ मा भर्ना भएकी हुन्। काठमाडौं–हेटौंडा सडकखण्डअन्तर्गत कुलेखानी नजिकै सडक छेउमा उनको एक डोको लालीगुराँस छ। सोनी हातमा लालीगुराँस बोकेर ओहोरदोहोर भएका गाडीतिर दौडँदै थिइन्। कति यात्रुले गुराँस किनेर लग्थे भने कतिले वास्तै गर्दैनथे।
यहाँका बालिबालिका स्कुल समयबाहेक फुर्सदमा जंगलबाट लालीगुराँस टिपेर शनिबार सडकमा आएर बेच्छन्। गुराँसे फुल्ने सिजनको शनिबार सडकमा बालबालिका समूह–समूहमा विभाजन भएर लालीगुराँस बेच्ने गर्दछन्।
गत शनिवार पनि उनीहरू गाडीका यात्रुहरूलाई लालीगुराँसका आकर्षक थुँगा देखाउँदै ‘लालिगुराँस लिनुस्, लालिगुराँस लिनुस्,’ भन्दै थिए। यसरी लालीगुराुँस बेच्नेमा सोनीसँगै रोजिना बल, जेनिसा घिसिङ, बिमला घ्यावा, अशोक घिसिङ र कर्साङ बल थिए। उनीहरूजस्तै पल्लोडाँडामा अर्काे समूह थिए। गुराँस बेच्नेहरू करिव ७, ८ वदेखि १४, १५ वर्षसम्मका थिए।
उनीहरूमध्ये केहीले गुराँस बेचेको पैसाबाट पढाइ खर्चको जोहो गर्ने र केहीले आमाबुबालाई दिने गरेको बताए। सोनीले भनिन्, ‘दिनमा २–३ सय रुपैयाँसम्म गुराँस बेच्छु,।’ त्यो पैसा के गर्छौ भन्दा जेनिसाले भनिन्, ‘त्यो पैसाले कापीकलम किन्ने।’ एक थुँगा लालीगुराँस १० देखि २० रुपैयाँसम्म बिक्री हुने गरेको छ।
कक्षा एक दुई कक्षामा पढ्ने ती बालबालिका हरेक शनिवार यस क्षेत्रमा लालीगुराँस बेच्न आउँछन्। जंगलमा फुलेका गुराँस टिपेर उनीहरू व्यापार गरिरहेका छन्। जेनिसा बल भन्छिन्, ‘कमाएको पैसा घरमा आमालाई लगेर दिने हो।’
कक्षा २ मा पढ्ने बिमला घ्यावा पनि लालीगुराँस बेच्न व्यस्त थिइन्। उनले पनि पढाई खर्चकै लागि गुराँस बेच्न आएको बताइन्। मकवानपुरको कुलेखानी, देउराली, चिसापानीगढी, फाखेललगायत ठाउँमा हरेक शनिवार यसरी लालीगुराँस बेच्ने बालबालिका प्रसस्तै भेटिन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।