|
फाइल तस्बिर

काठमाडौ  बैतडी हटैराज–२ गुर्केलीका रणबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पाकिस्तानमा अलपत्र परेका आफ्नो भाइ नरेन्द्रबहादुर चन्द र उनको परिवारको उद्धार गरी नेपाल ल्याईदिन अनुनयविनय गरेका छन्।

पाकिस्तानको प्रधानमन्त्री शाहिद खाकान अब्बासीको सोमबारबाट सुरु हुने दुई दिने नेपाल भ्रमणका बेला आफ्नो भाइको समस्या राखिदिन अनुरोध गर्दै रणबहादुरले प्रधानमन्त्री ओलीलाई निवेदन लेखेका हुन्।

‘मेरो भाइ पाकिस्तानको बलुचिस्तानस्थित शरणार्थी शिविरमा बसेको र निजको श्रीमतीको विवाह दर्ता र छोराछोरीको जन्मदर्ता समेत नभएको हुँदा नेपाल ल्याउनका लागि उच्चस्तरीय पहल भएमा मात्र सम्भव हुने पाकिस्तानस्थित नेपाली दूतवासले बताउँदै आएको छ,’ रणबहादुरले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आउँदो सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यू नेपाल भ्रमणमा आउनुहुने भएकोले सोही अवसरमा मेरो भाइका लागि नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूले भाइ लगायत स–परिवार स्वदेश फिर्ति गराउने वातावरण मिलाइदिन हुन भनी याचना गर्दछु।’

रणबहादुरका भाइ नरेन्द्र पाकितानको क्वेटा जेलबाट गत पुस २९ गते रिहा भएका हुन्। लामो समयदेखि गैरकानुनी रुपमा पाकिस्तानमा बसेको भएपनि उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको भन्दै स्थानीय अदालतले उनलाई पुसमा रिहा गर्ने आदेश दिएको थियो।

नरेन्द्र १३–१४ वर्षको हुँदा ०४६ मा भागेर भारत पुगेका थिए। त्यसपछि उनी परिवारसँग सम्पर्कविहीन बनेका थिए। त्यसैवर्ष उनी एकजना पाकिस्तानीको साथ लागेर पाकिस्तान पुगेका थिए। सुरुमा पाकिस्तानको कराँचीमा बसेका उनी केही वर्षपछि बलुचिस्तान पुगेका थिए। त्यहाँ उनले मुस्लीम धर्म अँगालेर अफगानीस्तानको शरणार्थी युवतीसँग विवाह गरेका थिए। उनको एक छोरा र एक छोरी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.