|
पालेको मौरीको रेखदेख गर्दै नवीन आचार्य।

चितवन : चितवनको पदमपुरका नवीन आचार्यले ०५८ मा एउटा घारबाट मौरीपालन थाले। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले दिएको पहिलो मौरीपालन तालिमपछि ५० प्रतिशत अनुदानमा उनले एकघार मौरी पालन सुरु गरे। त्यसपछि विस्तारै मौरी पाल्न थालेका उनका अहिले ६५ घार मौरी पुगेका छन्। अहिलेसम्म उनले करिब १०० घार मौरी बेचिसके पनि।

उनीसहित त्यो बेलामा २९ जनाले तालिम लिएका थिए। उतिबेलामा मौरीपालक किसान गेदनाथ अधिकारी अहिले मिलीजुली मौरीपालन सहकारी संस्थाका व्यवस्थापक छन्। नविन आचार्यले मौरी पालन गर्दा पदमपुरमा मौरी पाल्ने चलन थिएन। जिल्लाका अन्य क्षेत्रमा मात्रै पालिन्थ्यो। ‘त्यो बेलाको शुरुआत नै हामीहरुले गरेका हौं, आचार्यले भने, एकघारबाट अहिले ६५ घार पुगे, खुसी छु।’

उनले एकपटक ८५ घारसम्म पुर्याएका थिए। तर विभिनन ठाउँबाट माग आएकाले विक्रि गर्दा ६५ घारमा झरेका हुन्। अझै घार बढाउने योजनामा उनी छन्। यसका लागि चरिचरण राम्रो व्यवस्थापन गर्न जरुरी छ भन्छन्, आचार्य।

मुख्यगरी राष्ट्रिय प्रकृति संरक्षण कोषले जंगलमा मानविय चाप घटाएर वन वन्यजन्तुको संरक्षण र स्थानियलाई आयआर्जनमा सहयोग गर्न तालिमको कार्यक्रम ल्याएको थियो।

त्यही तालिमले सो क्षेत्रमा मौरीको शुरुआत गरेको थियो। अहिले पदमपुरमा मात्रै करिव १५ जना जति किसान व्यवसायीक मौरीपालनमा सक्रिय रहेको आचार्य बताउँछन्। उनले बार्षिक करिव ५देखि ६ लाखसम्म कमाउने गरेको बताए।

कालिका नगरपालिका २ पदमपुरका ताराप्रसाद ढुंगानाको पनि ४५ गोला मौरी छ। वार्षिक उनले पनि ३,४ लाख कमाई गर्छन्। मातृकाप्रसाद घिमिरेले पनि ३५ गोलाबाट आम्दानी गरिरहेका छन्।

जुटपानीका शिवप्रसाद पौडेलले ११० घार मौरी छ। उनी अहिले मौरी चराउन भैरहवामा छन्। चितवनको सिद्धिमा मौरी चराउँदा २० क्वीन्टल भन्दा बढी मह निकालेको पौडेलले बताउनुभयो। सिद्धिमा केही महिना मौरी राखेर चिउरीको मह उत्पादन गरेपछि उनले स्थान परिवर्तन गरेर भैरहवा पुगेका हुन्।

उनीहरु एउटा प्रतिनिधि उदाहरण हुन्। चितवनको पदमपुर र जुटपानीका केही भागका किसान मिसिएर स्थापना भएको मिलीजुली मौरीपालन सहकारी संस्थामा ३७ जना किसानहरु आबद्ध छन्। २०५८ सालमा मिलीजुली मौरीपालन समूह थियो।

त्यसैलाई विस्तार गरेर यहाँ सहकारी बनाईएको हो। सहकारीले मौरीपालनका लागि चाहिने सामाग्रीहरु व्यवस्थापन गर्दै आएको व्यवस्थापक गेदनाथ अधिकारी बताउँछन्। शुरुआतमा मौरीपाथन थालनी गर्नेमा अधिकारी पनि एक थिए। अहिले उनी व्यवस्थापक भएपछि १०/१५ घार मात्रै राखेको बताउँछन्।

उनका अनुसार सहकारीमा आबद्ध ३७ किसानका २ हजार १०० मौरीका घार छन्। प्रति घार ३५ देखि ४० किलो मह उत्पादन हुन्छ। उनीहरु बाहेक पनि यहाँ सहकारीमा आबद्ध नभएका मौरीपालन गर्ने किसान छन्। अहिले सो क्षेत्र व्यवसायिक मौरीपालनमा अगाडि बढ्दै छ।

किसानहरुलाई अहिले मह निकाल्न भ्याई नभ्याई छ। जिल्लामा करिब ४०० जति किसानहरु रहेको अनुमान छ। अहिले महको थोक प्रतिकिलो २८० देखि ३०० र खुद्रा मूल्य रु ५०० को हाराहारीमा रहेको किसानहरुले बताएका छन्।

नेपालमा सेरेना र मेलीफेरा मौरी पालन हुने गरेको छ। व्यवसायिक रुपमा भने मेलिफेराको पालन हुन्छ। बढी विषादीको प्रयोगले भने मौरीमा असर गरिरहेको किसानको गुनासो छ। यसतर्फ राज्य गम्भीर हुनुपर्ने उनीहरु बताउँछन्। सरकारी सहयोगमा मौरीको चरण विस्तार बजार व्यवस्थापनलगायतका काम गर्न सके नेपालमा मौरी फस्टाउने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.