|

चितवन : उनी यतिबेला कुनै अस्पतालमा बिरामी हेर्दै हुन्थे होला। शल्यक्रियामा खटिइरहेका हुन्थे होला। औषधि सिफारिस गर्दै हुन्थे होला। बिरामीहरू डा. आशिष गुरुङको प्रतीक्षामा हुन्थे होला। 

तर जब सोच परिवर्तन भयो अनि पेसा पनि फेरियो उनको। यतिबेला उनी कुन बाघ कस्तो छ? कुन बाघ लंगडो छ? कुन बाघ घाइते छ? कुन बाघले कहाँसम्म आफ्नो क्षेत्र (टेरिटोरी) बनाएको छ? आज क्यामेरामा कुन बाघ पर्‍यो? गैंडा, चित्तल, चितुवा परे कि परेनन्? कुन वन्यजन्तुको कस्तो आनीबानी छ? यस्तै अध्ययन, अनुसन्धान र तथ्यांक विश्लेषणमा डा. गुरुङको दिन बित्छ।

अधिकांश मान्छेको पहिलो चाहना डाक्टर, इन्जिनियर बन्ने हुन्छ। साना बालबालिकालाई सोध्यो भने उनीहरू सहजै उत्तर दिन्छन्, ‘डाक्टर बन्ने।’ अन्य विषय पढेरसमेत पछि चिकित्सा शिक्षा पढेका उदाहरण छन्।

बालबालिकालाई उनका अभिभावकले पनि यस्तै संस्कार सिकाएका हुन्छन्। तर शल्यचिकित्सक (सर्जन) बन्ने सोच बोकेका एक जना मेडिकल चिकित्सक आफ्नो चिकित्सा पेसा छाडेर जंगल चहार्छन् भन्दा पनि आश्चर्य लाग्न सक्छ। यस्तै उदाहरणीय काम गर्दै छन्, डा. आशिष गुरुङ। 

चिकित्सा पढे पनि संरक्षणमा चाहना भएको र काममा परिपक्व देखिएकाले उनलाई आवद्ध गराइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्याल बताउँछन्। मानिसलाई संरक्षण क्षेत्रमा काम गर्दा आनन्द आउँछ भन्ने एउटा नमुना डा. गुरुङ भएको समेत उनले बताए।

बाबुआमाको दबाबमा परेर आफ्नो भविष्यमा केन्द्रित हुन नसक्नेहरूका लागि डा. गुरुङ उदाहरणीय पात्रसमेत बनेका छन्। पोखरा लेखनाथ महानगरपालिका– १० मिलनटोलका गुरुङ दुर्लभ वन्यजन्तु बाघ, गैँडा, चितुवाको खोजीमा चितवनका जंगल डुल्दै छन्। इन्जिनियर बुबा खेमबहादुर र शिक्षिका आमा चित्रकुमारीले अवकास लिइसके। उनीहरूको चाहना एक्लो छोरालाई चिकित्सक नै बनाउने थियो। अझै पनि छोरो चिकित्सक नबनेकामा बुबाआमा असन्तुष्ट छन्।

तर आशिष भने मेडिकल क्षेत्र छाडेर वन्यजन्तु संरक्षणमा रमाउँदै छन्। उनले राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा संरक्षण अधिकृतको रूपमा वन्यजन्तुको क्षेत्रमा काम गर्न थालेको तीन वर्ष भइसक्यो।

ग्लोवल कजेज पोखरामा एसएलसी गरेर काठमाडौंको डन बस्को कलेजमा उनले प्लस टु गरे। मेडिकल विश्व विद्यालय तियान्जिन चीनमा सन् २००६ मा उनले एमबिबिएस गरे। 

त्यसपछि उनले आफ्नो फिल्ड चटक्कै छाडेर पोखरा विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकोत्तर गरे। ‘सानैदेखि वन्यजन्तुमा रुचि हो’, डा. गुरुङ भन्छन्, ‘टिभी हेर्दा नै वन्यजन्तु देखेपछि उत्साहित हुन्थेँ तर कसरी डाक्टर पढ्न पुगेँ, आफैँलाई थाहा भएन।’

जब उनले एमबिबिएस भ्याए, व्यावहारिक ज्ञान लिन पैसा तिरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इन्टर्नसिप थाले। त्यसलाई छाडेर एक्कासि वातावरण विज्ञानमा स्नातकोत्तर गरेर उनले पेसा परिवर्तन गरेका हुन्।

‘अहिले एकदम सन्तुष्ट छु, अस्पतालको भन्दा जंगलको काम राम्रो भइरहेको छ’, डा. गुरुङले भने। सुरुमा स्वयंसेवक भएर संरक्षणमा प्रवेश गरेका उनी अहिले बाघ, चितुवा, गैँडाका आनीबानीका बारेमा पोख्त भइसके। भन्छन्, ‘मेडिकल लाइनमा गएको भए रोगहरूका बारेमा पोख्त हुन्थेँ होला, अहिले वन्यजन्तुहरूका बारेमा पोख्त हुँदै छु, यसैमा खुसी छु।’

यसअघि पर्सामा गएर मानव–वन्यजन्तु द्वन्द्वको अवस्था अध्ययनमा समेत उनले काम गरे। त्यस बेला उनीसहितको समूहको अध्ययन अनुसन्धानले बाघभन्दा पनि चितुवाबाट मानव–वन्यजन्तु द्वन्द्व बढेको निष्कर्ष निकालिएको थियो।

चिकित्सा पढे पनि संरक्षणमा चाहना भएको र काममा परिपक्व देखिएकाले उनलाई आवद्ध गराइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्याल बताउँछन्। मानिसलाई संरक्षण क्षेत्रमा काम गर्दा आनन्द आउँछ भन्ने एउटा नमुना डा. गुरुङ भएको समेत उनले बताए।

जैविकमार्गमा वन्यजन्तुको अवस्था अध्ययन गर्दै

अहिले चितवनको बरण्डाभार क्षेत्रमा बाघको अवस्थाको अध्ययनमा उनी सक्रिय छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाबाट बरण्डाभार क्षेत्रका बाघ, गैँडा संरक्षण परियोजना हेरिरहेका छन्। उनी प्रायः जंगलतिरै भेटिन्छन्। जंगलमा राखिएका क्यामेराका अभिलेख हेर्छन्।

कुन बाघ कहाँ गइरहेको छ? बाघको बच्चा छ कि छैन? भाले कति छन्? पोथी कति छन्? कुन बाघ कहाँसम्म पुगेको छ? त्यसको क्षेत्र कहाँसम्म छ? यस्तैयस्तैको खोजीमा दिन बित्छ उनको। बचेको समय अफिस बसेर ती संकलित तथ्यांक विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने काम उनको हो। 

‘बाघको अहिले व्यक्तिगत अवस्थाको अध्ययन गरिरहेको छु’, डा. गुरुङले भने, ‘चितवनको जैविकमार्गअन्तर्गत राजमार्गभन्दा माथिल्लो भेगमा अझै बाघको वासस्थानको यकिन भइरहेको छैन, त्यसैको अध्ययनमा छौँ।’ उक्त अध्ययनमा अर्का संरक्षण अधिकृत सन्तोष भट्टराई पनि सहभागी छन्। अन्य प्राविधिकको समूह पनि छ।

चिकित्सा क्षेत्र छाडेर वन्यजन्तुको संरक्षणमा आएका डा. गुरुङको अथक मिहिनेत प्रशंसायोग्य भएको भट्टराई बताउँछन्। डा. गुरुङका अनुसार उक्त क्षेत्रमा भाले बाघ क्यामेरामा परेका छन्। पोथी बाघ परेका छैनन्। त्यसैले अध्ययन चलिरहेको छ। 

दुई वर्षअघिको अध्ययनमा चितवनको राजमार्गभन्दा माथिल्लो भागमा पोथी बाघ भेटिएको थियो। अहिले पोथीको पाइला भेटिए पनि क्यामेरामा परेको छैन। भाले बाघ भने दुई तीनवटा परेको उनी बताउँछन्। त्यही यकिन गर्न उनी अध्ययन गरिरहेका छन्। तल्लो क्षेत्रमा भने बच्चासहितको बाघ रहेकाले वासस्थान राम्रो छ भन्ने निष्कर्षमा डा. गुरुङ छन्।

डा. गुरुङ संरक्षण क्षेत्रमा जब अगाडि बढे, त्यतिबेला लहानमा स्थानीयले आँखा पनि नउघ्रेको चितुवाका दुईवटा बच्चा फेला पारेका थिए। ती बच्चा सौराहा आइपुगे। डा. गुरुङ र टीकाराम थारूको अथक प्रयासले ती आँखा नउघ्रेका चितुवा लक्का जवान भए। तिनलाई जंगलमा पुनःस्थापना गर्न सफल भएको अनुभव छ उनीसँग।

यस्तै, जंगल र वन्यजन्तुको अध्ययनमा रमाउँदै आएका गुरुङले भने, ‘किताबी अध्ययनभन्दा फिल्डमै रमाइलो लाग्छ, वन्यजन्तुहरूको नयाँ कुराहरू हेर्न सिक्न र बुझ्न पाउँदा सन्तुष्ट छु।’ बाघ कति छन्, बच्चा छ कि छैन, बासस्थान कस्तो छ, जिपिएस प्वाइन्टबाट नक्सामा हेर्दा बाघ कहाँसम्म घुम्छ, कुन बाघ कहाँ पुग्दै छ, टेरिटोरी ओभरल्याप भएको छ कि छैन भन्ने अध्ययनमा उनी छन्।

‘जनावर देखेपछि भित्रैदेखि खुसी लाग्छ। आनीबानी सिक्दा मजा आउँछ’, उनले हाँस्दै भने। जंगलमा यसरी काम गर्दा जनावरको आक्रमणको जोखिम पनि छ। तर त्यस बेला आत्तिनु नहुने उनी बताउँछन्। ‘भाग्न खोज्यो भने झन् आक्रमण गर्छ। आँखा जुधाएर विस्तारै पछि हट्नुपर्छ’, उनको अनुभव छ, ‘तैपनि आनन्द आउँछ।’
आजभोलि त बाघ गणना भएको छ। डाटा केलाउँदैमा उनलाई फुर्सद छैन। बेलाबेलामा जंगल गएर क्यामेरामा बाघ परे नपरेको अध्ययन गर्छन्। आइतबार उनी टिकौली जंगलमा बाघको अवस्थाबारे अध्ययन गर्दै गर्दा भेटिए। सहयोगी विनोद दराई पनि थिए। ‘ल हेर्नुहोस्, क्यामेरामा परेको बाघ’, फोटो देखाउँदै उनले भने। 

उनका अनुसार बाघ राजमार्गतर्फ जाँदा लस्किएर गएको थियो। राजमार्गबाट फर्कंदा भाग्दै गएको पाइयो। ‘यसले पनि राजमार्गले वन्यजन्तुलाई ठूलो असर गरिरहेको पुष्टि गर्छ’, उनले भने, ‘बाटो काट्न खोज्दा गाडी आएपछि फर्केर भाग्ने गरेको छ। यस्तो अवस्थामा गाडी तीब्र गतिमा हुँदा वन्यजन्तु मर्न सक्ने भएकाले सचेत हुनुपर्छ।’ 

‘चितुवा हुर्काएर जंगलमा पुनःस्थापित गरेँ’

डा. गुरुङ संरक्षण क्षेत्रमा जब अगाडि बढे, त्यतिबेला लहानमा स्थानीयले आँखा पनि नउघ्रेको चितुवाका दुईवटा बच्चा फेला पारेका थिए। ती बच्चा सौराहा आइपुगे।
डा. गुरुङ र टीकाराम थारूको अथक प्रयासले ती आँखा नउघ्रेका चितुवा लक्का जवान भए। तिनलाई जंगलमा पुनःस्थापना गर्न सफल भएको अनुभव छ उनीसँग। यो सन् २०१५ को कुरा हो।

‘सुरुमा दूध खुवायौँ, विस्तारै मासु खान थाल्यो, चार महिनापछि मासुमै निर्भर भयो’, डा. गुरुङ सम्झन्छन्, ‘नौ महिना राखेर हुर्किएपछि जंगलमा पनि छ महिना खुला खोरमा राख्यौँ अनि छाड्यौँ।’ 

पछि चित्तल पनि मारेर खान थालेको देखेपछि भने जंगलमा बाँच्न सक्छ भन्ने ढुक्क भएको उनी बताउँछन्। बीचमा हरायो। खोज्दै जाँदा दाहिने कान आधा नभएको अवस्थामा फेला पर्‍यो। ‘यस्तो हुनु भनेको अन्य चितुवासँग जुधेर जंगलमा बाँच्च सक्षम भएको उदाहरण हो’, गुरुङ भन्छन्। बाघ, गैँडाको जस्तो चितुवाको अध्ययन नभएकाले डा. गुरुङले अब चितुवामा नै विद्यावारिधि गर्ने योजना बनाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.