|

चितवन : राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम सुरु भएको छ। जिओलोजिकल सोसाइटी अफ लण्डनको आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम सुरु भएको हो। 

राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाई स्थानीयलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्रको चितवन र नवलपरासीका विभिन्न स्थानमा माछापालन कार्यक्रम सुरु गरिएको हिमालयन नेचरका परियोजना प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।

चितवनको जगतपुरस्थित केरुङ्गा मध्यवर्ती क्षेत्रका दुई ठाउँ र नवलपुरको पिठ्यौली र देवचुलीका तीन ठाउँ गरी पाँच स्थानमा माछापोखरी निर्माण गरी स्थानीय विपन्न समुदायलाई सहभागी गराउन थालिएको हो। यस क्षेत्रमा बोटे, माझी र मुसहर समुदायलाई केन्द्रित गरेर माछापालन कार्यक्रम सुरु गरिएको हो। 

चार वर्षे कार्यक्रमअन्तर्गत पहिलो चरणमा पाँचपोखरीका लागि सहयोग गरिएको र पछि अन्य क्षेत्रमा पनि पोखरी निर्माण गरी माछापालन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

विशेषगरी नदी छेउमा बस्ने स्थानीयहरू माछा मार्न नदीमा जान्छन्। उक्त क्रममा जाल अड्किएर गोही मर्ने र नदीमा माछासमेत घट्ने हुँदा वन्यजन्तु, चरा र जलचरलाई असर गर्ने भएकाले उक्त कार्यक्रम सुरु भएको हो। चार वर्षे कार्यक्रमअन्तर्गत स्थानीयलाई स्वरोजगार बनाई नदीमा आश्रय कम गर्नु यसको मुख्य उद्देश्य रहेको श्रेष्ठले बताए।

पछिल्लो समय चितवन र नवलपरासीमा बोटे, माझी र मुसहर समुदायलाई सहभागी गराएर संरक्षण कार्य अघि बढाइएको छ। यहाँ उनीहरूलगायत चोरीशिकार नियन्त्रण युवा जागरण अभियानका सदस्यहरू सम्मिलित ‘घडियाल गार्ड ग्रुप’ गठन गरी संरक्षण अभियानसमेत थालिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिए।

उक्त समूहलाई जिपिएस र क्यामरासमेत दिएर घडियालको नियमित अनुगमनका लागि परिचालनसमेत गरिएको छ। पछिल्लो समय प्राकृतिक वासस्थामा घडियाल गोही लोप हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.