|

चितवन : ‘केमेष्ट्री फर सस्टेनेबल डेभलभमेन्ट’ भन्ने नारासहित चितवनको सौराहामा भएको रसायनशास्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलनले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने निष्कर्ष निकालेको छ। विश्वका विभिन्न २० देशका करिव २०० वैज्ञानिक र अनुसन्धानकर्ता सहभागी सम्मेलनले प्रविधिमैत्री अनुसन्धानलाई प्रभावकारी बनाउने निष्कर्षसहित सात बुँदे सौराहा घोषणापत्र जारी गरेको छ। 

नेपाल केमिकल सोसाइटी वीरेन्द्र बहुमुखी क्याम्पस चितवनको सहकार्यमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन देश विकासमा अनुसन्धानलाई जोडेर अझै कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित रहेको सोसाइटीका अध्यक्ष अमरप्रसाद यादवले बताए। सोसाइटीका सदस्य मनोज विष्टले केमिकलको ल्याव तथा रिसर्च सेन्टरहरूलाई वैज्ञानिक बनाउँदै सुदृढ पार्ने, स्रोत साधनको सम्भावना र क्षमताको विकास गरी अनुसन्धानलाई प्रभावकारी बनाउने, समन्वय गरेर अध्ययन अनुसन्धान गरी अगाडि बढाउने सम्मेलनको निष्कर्ष रहेको जानकारी दिए। विष्टले भने, ‘हरेक विकासका मोडल ल्यावमा तयार हुने भएकाले राज्य र जनतालाई जनजीविकासँग जोड्नुपर्ने आवश्यकता रहेकाे छ।’ 

सम्मेलनमा अनुसन्धानपछि विभिन्न खाले जर्नलमा प्रकाशित भइसकेका र अनुसन्धानकै क्रममा रहेका गरी कुल १७० वटा कार्यपत्रमाथि छलफल भएको थियो। 
विश्वमा केमिकलको अध्ययन अनुसन्धान र नेपालको अवस्थाको बारेमा समेत छलफल भएको सोसाइटीले जनाएको छ।

राज्यले केमिकलको क्षेत्रमा ध्यान दिन नसकेको भन्दै अब यसले राज्यलाई समेत ध्यानाकर्षण गराउने सोसाइटीका अध्यक्ष अमरप्रसाद यादव बताए। सम्मेलनले आगामी नोभेम्बरमा एसियन सम्मेलन र आगामी सन् २०१९ को फेब्रुअरी-मार्चमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.