|

चितवन : चितवनमा स्थानीय निकायसँगको समन्वयमा बाढी पहिरोलगायत विभिन्न घटनाबाट हुने क्षति रोक्न विपद व्यवस्थापनको पूर्व तयारी सुरु भएको छ।

जिल्लाको पहाडी क्षेत्र पहिरोको जोखिममा रहेको र तल्लो क्षेत्रका विभिन्न ठाउँमा बाढीको उच्च जोखिम रहेकाले जोखिम घटाउन पूर्व तयारी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले जानकारी दिए। 

आइतबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी र स्थानीय तहका प्रमुखहरूको सहभागितामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले चितवनका विभिन्न क्षेत्रमा विपद व्यवस्थापनको क्लष्टर निर्माण गर्ने निर्णय गरेको प्रजिअ भट्टले बताए। 

पूर्वी चितवन, भरतपुर र पश्चिम चितवनमा संभावित घटना रोक्न र भएका घटनाबाट क्षति न्यूनीकरणका लागि समन्वय गर्ने गरी तीन ठाउँमा क्लष्टर निर्माण गर्न लागिएको हो। 

कार्यक्रममा बोल्दै चितवनको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले खोलानालामा आउने बाढीबाट वर्सेनि धेरै मानिसको मृत्यु हुने र धनजनको क्षति हुने गरेको भन्दै नदी नियन्त्रणका लागि ध्यानाकर्षण गराइन्।

गर्मीको समय बढिरहेकाले आगलागीका घटनासमेत बढ्ने भन्दै यसतर्फ समितिले ध्यानाकर्षण गराएको छ। बैठकले हरेक महिनामा विपद व्यवस्थापन समितिको बैठक बसी पूर्व तयारीका कार्यक्रम प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले कृषि विकास समितिमा पेस भएको बाढीपीडित र भूकम्पपीडित किसानका लागि आएको अनुदान कार्यक्रमबारे बैठकमा जानकारी गराएका थिए। 

उक्त प्रस्तावसमेत विपद व्यवस्थापन समितिले अनुमोदन गरेको छ। बैठकमा नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको जुगेडी र सिमलतालमा हुने विभिन्न दुर्घटनालाई ध्यानमा राखेर चारवटा स्ट्रेचर, फोकस लाइट र ४०० मिटर डोरी आवश्यक रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले प्रस्ताव पेस गरेका थिए।  

नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि शंकर गिरीले उक्त सामग्री खरिदका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबारको बैठकमा हालसम्म भएका विपद व्यवस्थापन कार्यको समीक्षा, नयाँ ऐन, विपद व्यवस्थापनको काम, मन्त्रालयबाट आएको परिपत्रलगायतको विषयमा छलफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.