|

काठमाडौं : जनप्रतिनिधिलाई स्थानीय तहमा खटिएका कर्मचारीले नटेरेको,स्थानीय तहले दिने सेवा प्रभावकारी हुन नसकेको, कर्मचारीको उपस्थिति र व्यवस्थापन सहज हुन नसकेको र खटाइएको ठाउँमा कर्मचारी नपुगेको गुनासो आइरहेका बेला संघीय तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिएका कर्मचारीलाई १३ बुँदे निर्देशन जारी गरेको छ।

मन्त्रालयले जिल्ला समन्वय अधिकारी, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षसँग स्वीकृति नलिई कार्यक्षेत्र नछाड्न स्थानीय तहमा खटिएका कर्मचारीलाई निर्देशन दिएको छ। कर्मचारीले कारणवश बिदा लिनु परेमा या काजमा जानुपर्ने भएमा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षसँग स्वीकृत लिन परिपत्रमा भनिएको छ। सेवा कार्यालय तथा वडा कार्यालयमा खटिएका कर्मचारीलाई भने काज स्वीकृत तथा कार्य सम्पादन मूल्यांकन प्रमुख प्रशासकीय अधिकृतले दिने मन्त्रालयले जारी गरेको परिपत्रमा जनाइएको छ।

यसैगरी स्थानीय तहमा खटिएका कर्मचारीलाई आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन पनि निर्देशन दिइएको छ। निर्देशनमा भनिएको छ, ‘जिल्ला समन्वय समिति, महानगर/उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा कार्यरत जिल्ला समन्वय अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृतले तोकिएको आर्थिक अधिकारलाई मितव्ययी, पारदर्शी तवरले प्रयोग गर्नु पर्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.