|

काठमाडौं : सोमबार भएको युएस बंगला विमान दुर्घटनामा घाइते भएर काठमाडौं मेडिकल कलेजमा उपचाररत दुई जनाको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

विमान दुर्घटनामा परेकामध्ये हालसम्म केएमसी अस्पतालमा आठ जना बंगलादेशी नागरिक र दुई जना नेपालीसहित १० जनाको उपचार भइरहेको र उपचाररतमध्ये दुईको अवस्था गम्भीर रहेको उनीहरूको उपचारमा संलग्न चिकित्सक डा. राजिवराज मानन्धरले बताए।

हाल अस्पतालमा उपचाररतमध्ये दुई जना नेपाली नागरिक प्रिन्सी धामी र समिरा व्यन्जनकारको अवस्था गम्भीर रहेको र हाल उनीहरूको आइसियुमा राखेर उपचार भइरहेको समेत डा. मानन्धरले बताए।

'हाम्रोमा जम्मा २५ जना बिरामीहरू आउनुभएको थियो, जसमध्ये केहीको निधन भयो भने केही उपचारका लागि अन्त जानुभएको छ', उनले भने, 'त्यसैले अहिले हाम्रोमा १० बिरामी उपचाररत हुनुहुन्छ, जसमध्ये दुई जनाको अवस्था अझै चिन्ता जनक छ।'

आठ जना बंगलादेशी नागरिकहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको  र केही बिरामीलाई उनीहरूकै चाहनामा बंगलादेश नै रिफर गर्न लागिएको समेत डा. मानन्धरले बताए।

उनले भने, 'हाम्रोमा आठ जना बंगलादेशी नागरिक उपचाररत हुनुहुन्छ। उहाँहरू सबै खतरामुक्त हुनुहुन्छ। केही बिरामीले आफ्नै देशमा जाने इच्छा देखाएकाले हामीले उतै रिफर गर्दै छौँ। आज एक जना जाँदै हुनुहुन्छ भने भोलि तीन जना बिरामीलाई पठाउने तयारी भइरहेको छ।'

यस्तै, नर्भिक अस्पतालमा उपचारका लागि गएका सात जना घाइतेमध्ये हाल दुई जना बंगलादेशी र एक जना नेपाली गरी तीन जना मात्र उपचाररत रहेको र उनीहरूको अवस्था खतारमुक्त रहेको अस्पतालले जनाएको छ।

 उपचारका लागि आएकामध्ये दुई जना उपचारपश्चात घर गएको र दुई जना अन्य अस्पतालमा रिफर गएकासमेत अस्पतालले जानाएको छ।

यता, ओम अस्पतालमा उपचारका लागि लगिएको बंगलादेशी नागरिक डा. रिजवानुअल हकलाई भने एयर एम्बुलेसबाट सिंगापुर लगिएको अस्पताले बताएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.