|

चितवन : नेपाली साहित्यको संरक्षण तथा पुस्तक वितरण गर्दै आएको सरकारी संस्था साझा प्रकाशन क्षेत्रीय कार्यालय चितवनमा कर्मचारीको मनोमानी र काम प्रभावकारी नहुँदा साख गिर्दै गएको छ।

साझा प्रकाशनकाको व्यवस्थापन प्रभावकारी नभएका कारण कर्मचारीहरू आफूखुसी विदामा बस्ने, अवकाश प्राप्त कर्मचारीसमेत हाजिर गरेर बस्ने, व्यापार प्रवद्र्धनमा काम नगर्ने प्रवृत्तिले साझा प्रकाशन अस्तव्यस्त भएको हो।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माका अनुसार चितवनको क्षेत्रीय कार्यालयमा कर्मचारी व्यवस्थापनको समस्याकै कारण व्यापार फस्टाउन नसकेको हो।

शनिबार भरतपुरस्थित स्याउली बजारमा रहेको कार्यालयको छड्के निरीक्षणपछि शर्माले स्थानीय निकायसँग समन्वयमा गर्नुपर्ने कामसमेत कर्मचारीबाट नभएको पाइएको बताए।

कर्मचारीहरु आफूखुसी अनुपस्थित भएको, कामको जिम्मेवारी छैन भनेर एक अर्कामा दोष थोपरेर बस्ने गरेको तथा व्यापार प्रबद्र्धनमा गर्नुपर्ने काम समेत नगरेको पाइएको शर्माको भनाइ छ।

१ चैतदेखि अनुपस्थित हुँदासमेत कार्यालय प्रमुख मनरथ घिमिरेले कुनै जानकारी नगराएको समेत उनको दाबी छ। प्रमुख घिमिरेले भने एकदिनका लागि घर झापा गएको तर गाडी दुर्घटनामा परी घाइते भएकाले आफू अफिस आउन नसकेको बताए।

उनले व्यापार बढाउन भने सक्दो प्रयास गरेको समेत प्रतिक्रिया दिए। साझा प्रकाशनले पछिल्लो असोज कात्तिक र मंसिर महिनामा करिब ६ लाख रुपैयाँको मात्रै व्यापार गरेको छ। अध्यक्ष तथा महाप्रबन्धक शर्मा भने व्यापारको सम्भावना प्रशस्त भएर पनि यसका लागि प्रयास नै नगरेको देखिएको दाबी गर्छन्।

साझा प्रकाशनको भरतपुरमा रहेको करिब ५ कठ्ठा जग्गाको समेत सदुपयोग हुन सकेको छैन। अनुगमनमा कर्मचारीले तलबसमेत खान नपाएको र १० महिनाको घरभाडासमेत नबुझाएको पाइएको छ।

साझाका कर्मचारी अमृतकान्त पण्डितले २०७३ साल माघ १ गतेदेखि नै अवकाश प्राप्त भए पनि आजसम्म हाजिर गरेर बसिरहेको पाइएको छ। शर्माले संस्थाबाट नियुक्ति नलिई आफूखुसी हाजिर गरेको बताए। उनले अबदेखि कार्यालय नआउन निर्देशनसमेत दिए। केन्द्रीय कार्यालयमा अझै २२ करोड रुपैयाँका पुस्तक स्टक रहेकाले चितवन कार्यालयले माग गरेर बेच्न सक्ने अवस्था रहेको बताए।

कार्यालयमै भेटिएका पण्डितले जिम्मेवारी बुझाउन नपाएकाले बसिरकेको बताए। कार्यालयका प्रमुख घिमिरेले  पण्डितलाई राख्न प्रयास गरेको अनुगमनमा फेला परेको छ।

साझा प्रकाशनको वस्तुस्थिति के छ भनेर अनुगमनमा हिँडेको बताउँदै अध्यक्ष तथा महाप्रबन्धक शर्माले नुवाकोट, पोखरालगायत केही कार्यालयले उत्कृष्ट काम गरे पनि चितवनको क्षेत्रीय कार्यालय भने प्रभावकारी नदेखिएको उल्लेख गरे। अध्यक्ष शर्माले चितवनपछि अब बुटवल, दाङ, नेपालगञ्ज र धनगढीको अनुगमन गरिने जानकारी दिए।

साझा प्रकाशनले सामुदायिक विद्यालयको तीनदेखि नौसम्मका अंग्रेजी पुस्तक उत्पादन र वितरण गर्दै आएको छ। यसका साथै विभिन्न साहित्यिक पुस्तकहरू प्रकाशन र वितरण गर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.