|

सुर्खेत :  जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ। 

गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो। घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ महिला हिंसामुक्त नमूना गाउँ बन्नु सबैका लागि राम्रो सन्देश भएको बताए। 

उनका अनुसार गाउँ सभाबाट यहाँका महिलाको कार्यबोझ घटाउन कुटानी पिसानी मिल, सिलाइकटाई, हाते होजियारी तालीम र अन्य व्यावसायिक आत्मनिर्भर हुने कार्यक्रममा ध्यान दिएको छ। 

उक्त नमूना बस्तीका महिलाका लागि गाउँपालिकाले सरसफाइका लागि शौचालय राख्ने बाल्टी, नङ्कट, रुमाल, दाँत माझ्ने ब्रस लगायतका आवश्यक सामग्री उपलब्ध गराएको बताए। 

अधिकारकर्मी लक्ष्मीकन्या बुढाले कोइरेली अब नेपालकै पहिलो महिला हिंसामुक्त नमूना गाउँ बनेको दाबी गरिन। गाउँमा हुने सबैखाले उत्पीडनबाट यो बस्तीका ३५ घरधुरीका १३० महिलाले हिंसामुक्त गाउँको इतिहास स्थापित गरेको बताइन। ‘यो कार्य अन्य क्षेत्रमा रहने महिलाका लागि पनि अनुकरणीय हुनेछ,’ अधिकारकर्मी बुढाले भनिन्। 

समानताको समाज निर्माण गर्ने मूल ध्येयले जुम्लाको कोइरेलीबाट थालिएको अभ्यास नेपालका सबै गाउँमा लागू हुनुपर्नेमा उहाँको जोड थियो। मनोविमर्शकर्ता नन्दराज आचार्यले महिला शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुन सके मात्र यो कार्यक्रमले औचित्यता पाउने बताइन।  ानव समुदायका लागि मनोविमर्शको पनि त्यत्तिकै आवश्यकता रहेको उनकोे भनाइ थियो। 

घोषणा कार्यक्रमका अध्यक्ष बास्मती रोकायाले दुर्गम गाउँका पुरुषले सुगमको जस्तो सोच गरिदिएकाले हिंसामुक्त गाउँ बनाउन सकिएको जानकारी दिइन। १३० महिला र १४४ पुरुष गरी २७४ जनसंख्या रहेको उक्त बस्तीले रारा पर्यटन महोत्सवमा आउने प्रदेश सरकारका प्रमुखसहितको टोलीलाई स्वागत गर्ने योजना बनाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.