|

काठमाडौं देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ।

जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ। कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरैमात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ।

सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य उडान–अवतरण भएका थिए। विमानस्थलको कन्ट्रोल टावरबाट जहाज व्यवस्थापनमा खटिने एक एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०का अनुसार अहिले यो संख्या दैनिक ४ सयको हाराहारी पुगिसकेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ वैशाख ०७४ मा एकै दिन अहिलेसम्मकै सर्वाधिक ४७४ उडान भएका थिए।

१८ घन्टा खुल्छ विमानस्थल

त्रिभुवन विमानस्थल दैनिक १८ घन्टा खुला रहन्छ। दैनिक ४ सय उडान हुने दिन औसतमा प्रत्येक २ मिनेट ४२ सेकेन्डमा एउटा जहाज उड्ने या ओर्लने गर्छ। अन्तर्राष्ट्रियतर्फ केवल ९ वटा पार्किङ वे र एउटा मात्र धावनमार्गका भरमा हरेक साढे दुई मिनेटमा एउटा जहाज उडान या अवतरणको व्यवस्थापन गर्नु अत्यन्तै चुनौतीपूर्ण रहेको विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलरहरू बताउँछन्।

९ घन्टा अति व्यस्त, होल्ड गर्नुपर्ने बाध्यता

अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन कार्यालयका अनुसार बिहान १० देखि दिउँसो २ बजे र साँझ ७ बजेदेखि रातको ११ बजेसम्म विमानस्थल अति व्यस्त रहन्छ। यो अवधिमा जहाज आकाशमै लामो समय होल्ड हुन्छन् भने ग्राउन्डमा रहेका जहाजको उडान ढिला हुन्छ। ‘अन्तर्राष्ट्रिय गन्तव्यबाट उडेका जहाज अधिकांश बिहान १०–११ बजेपछि काठमाडौं आइपुग्न थाल्छन्,’ नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्यायले भने, ‘यो समयमा अधिकांश आन्तरिक उडानसमेत हुने भएकाले बढी होल्ड र डिले हुने समस्या हुन्छ।’

विमानस्थल कार्यालयका अनुसार सामान्य वातावरणमा भने एउटा जहाज उडेको या अवतरण गरेको २ देखि ५ मिनेटमा अर्को जहाजको पालो आउँछ। ‘पिक आवर’मा एक साथ बढी जहाज काठमाडौं आइपुग्दा आकाशमा ‘होल्ड’ गरेरै व्यवस्थापन गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.