|

सिन्धुपाल्चोक : बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलका एक शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घण्टा बेहोश भएपछि बुधबारदेखि सुरु भएको अन्तिम परीक्षा प्रभावित भएको छ।  शिक्षकले जानाजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोश भएका हुन् ।

बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खुवाएका थिए । लामो समय बेहोस भएका कुन्दन थापालाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको छ। दुई विद्यार्थीको उपचार जलवीरेमै भएको थियो ।

विद्यार्थीलाई गाँजा खुवाएर गलत कार्य गरेको भन्दै तीन शिक्षकलाई जलवीरे प्रहरीले पक्राउ गरेको छ। शिक्षक सुरज बुढाथोकी, रोशन कार्की र समन राना मगरलाई प्रहरीले पक्रेको हो। बुढाथोकी भक्तपुर, कार्की रामेछाप र रानामगर महोत्तरीका हुन् ।

शिक्षकत्रयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद खरेलले बताए। शिक्षक गाँजाले लठ्ठेकै अवस्थामा विद्यार्थीलाई पढाउने गरेको अभिभावकत्रय कुश थापा, चिनलाल सुनार र दीपक थापाले बताए। घटना लुकाउन बोर्डिङ स्कुलका सञ्चालक दिनेश खड्का, राम खड्का र राजु श्रेष्ठले बेहोस विद्यार्थीलाई विद्यालयबाट बाहिर निस्कन दिएका थिएनन्।

आफ्ना बच्चा नआएपछि अभिभावकले खोजी गर्दा बेहोश अवस्थामा भेटेका थिए। अभिभावकले तुरुन्त खबर गरेपछि प्रहरीले शिक्षकलाई पक्रेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.