|

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जम्बो टोली रहने भएको छ। परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ गरेको छ। २३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो। ‘सम्माननीय प्रधानमन्त्रीको भ्रमणका लागि भिभिआइपी उडान गर्नुपर्ने भनेर ५५ सिट रोकिएको छ,’ एयरलाइन्सका एक उच्च अधिकारीले  भने।

जम्बो प्रतिनिधिमण्डल आउने भए पनि प्रधानमन्त्रीले सपिङ लिस्ट ल्याउने छैनन्। भारतका तर्फबाट नेपाललाई सहयोग घोषणा हुन सक्ने, तर त्यसमा नेपालले सपिङ लिस्ट नबुझाउने नेपाली पक्षको तयारी छ।

पहिलो कार्यकालमा ७ फागुन ०७२ मा ओलीले भारतको राजकीय भ्रमण गर्दा पनि ओलीले कुनै तयारी विषयसूची लगेका थिएनन्। त्यतिखेर उद्योगी–व्यवसायीबाहेक ४५ जनाको टोली भ्रमणमा थियो। टोलीमा प्रधानमन्त्रीपत्नीसहित सबैमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षाकर्मी र सरकारी सञ्चारकर्मीसमेत थिए। उद्योगी–व्यवसायी निजी खर्चमा गएका थिए, दिल्लीमा उनीहरूको बसोवासको प्रबन्ध भने सरकारले नै गरेको थियो। यसअघिका सबैजसो प्रधानमन्त्रीको भारत भ्रमणमा उद्योगी–व्यवसायी निजी खर्चमै जाने गरेका थिए।

प्रधानमन्त्रीको भ्रमण दल भने अझै तय भइसकेको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट भाजपाका नेता तरुण विजयले ओलीलाई स्वागत गर्न भारतको संस्थापन पक्ष व्यग्रतासाथ प्रतीक्षा गरिरहेको बताए। ‘प्रधानमन्त्री ओलीजीलाई स्वागत गर्न भारतको संस्थापन पक्षले सम्पूर्ण तयारी गरिरहेको छ, उहाँको सम्मानमा कुनै बाँकी रहनेछैन र उहाँको भ्रमणपछि नेपाल र भारतबीच बुझाइमा कुनै पनि दूरी बाँकी हुनेछैन,’ नेता विजयले नयाँ पत्रिकासँग भने। नेपालसँगको सम्बन्ध भारतका लागि महत्वपूर्ण भएको बताए। उनले भने, ‘हामी नेपाल र भारतलाई एउटा परिवारका दुई सदस्य मान्दछौँ, यस हिसाबले ओलीजीको भ्रमण कूटनीतिक सीमामा कैद हुँदैन, पारिवारिक मित्रलाई स्वागत गर्न हामी प्रतीक्षारत छौँ।’

तय भएअनुसार प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको नियमित उडानबाट २३ चैतमा दिउँसो दिल्ली ओर्लंदै छन्। ओलीको सम्मानमा नेपाली दूतावासले २३ चैतमा रात्रिभोज आयोजना गर्दै छ। २४ चैतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम तय भएको छ। दिवाभोजअघि ओली र मोदीबीच एकान्त वार्ता हुनेछ भने त्यसपछि औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.