|

काठमाडौं : परनिर्भरता बढ्दै जाँदा दैनिक उपभोग्य वस्तुमा मासिक अर्बौं रुपैयाँ बाहिरिरहेको छ। चालू आर्थिक वर्षको सात महिनामा चामल, तरकारी तेल र फलफूलमा मात्र ४० अर्ब बाहिरिएको छ। सरकारले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रअनुसार सात महिनामा मुलुकमा ५ खर्ब ६१ अर्ब रुपैयाँको सामानमध्ये यी चार वस्तुमा मात्र ४० अर्ब तिर्नुपरेको हो। 

तथ्यांकअनुसार सात महिनाको अवधिमा १७ अर्ब रुपैयाँको चामल आयात भएको छ। तरकारी सात अर्ब र फलफूल तीन अर्बको आएको छ। खानेतेल १३ अर्ब रुपैयाँको आएको छ। ‘आयात प्रतिस्थापनको रणनिितलाई लामो समयसम्म त्यागेका कारण खाद्य वस्तुलगायत अन्य औद्योगिक वसतुको आयात अस्वाभिविक रूपले बढेको हो’, श्वेतपत्रमा उल्लेख छ।

श्वेतपत्रका अनुसार २५ वर्षको अवधिमा व्यापार घाटा करिब ४२ गुणाले बढेको छ। आर्थिक वर्ष ०४९\५० मा २२ अर्ब व्यापार घाटा रहेकोमा गतवर्ष ०७३\७४ मा नौ खर्ब १७ अर्ब पुगेको छ। चालू आर्थिक वर्षको पहिलो सात महिनामा घाटा छ खर्ब १४ अर्ब पुगेको छ। 

नेपालको वैदेशिक व्यापार भारतकेन्द्रित छ। मुलुकले गर्ने कुल व्यपारमध्ये भारतसँग मात्र ६४.८ प्रतिशत छ जुन व्यापार घाटाको ६६ प्रतिशत हो। वस्तु निर्यात आयातको सात प्रतिशत मात्र धान्न सक्ने अवस्था छ। आयातमा भएको वृद्धिको तुलनामा निर्यातको वृद्धि निकै कम र कुनै वर्षमा ह्रास समेत आएकाले यस्तो स्थिति आएको श्वेतपत्रमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.