चार वर्ष भित्र ऋण तिर्छौः औषधि लिमिटेड

|
pahilopost.com

काठमाडौं : आवश्यकता भन्दा बढी कर्मचारी र चुस्त व्यवस्थापनको अभावमा सात वर्षअघि बन्द भएको नेपाल औषधि लिमिटेड पुन सञ्चालन हुने भएको हो। बन्द उद्योगलाई सरकारकै ऋण सहयोगमा सञ्चालनमा ल्याउने तयारी गरिएको हो। 

उद्योग मन्त्री नवीन्द्रराज जोशीका अनुसार नेपाल औषधि लिमिटेडले तीन महिना भित्रमा नै औषधी उत्पादनको गर्ने छ। यो उद्योग सञ्चालनका लागि सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण सहयोग उपलव्ध गराउने निर्णय गरेको छ। पहिलो चरणमा तीन महिनाको अवधिमा आठ किसिमका औषधी उत्पादन गर्ने मन्त्री जोशीले बताए। 'ठ्याक्कै यो मितिमा उत्पादन गरिसक्छौं भन्न सकिदैन तर आगमी तीन महिना भित्र उत्पादन गर्ने लक्ष लिएका छौ' उनले भने।

नेपाल औषधि लिमिटेडको बारेमा अध्ययन गर्न बिभिन्न मितिमा गठन भएका समितिहरुले व्यवस्थापन चुस्त नरहेको, आवश्यकता भन्दा तीन गुणा बढी कर्मचारी भएको प्रतिवेदन पेस गरेको थियो। सुशील कोइराला नेतृत्वको सरकारको पालामा उद्योग सञ्चालन गर्न र सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयका उपसचिव दीपक घिमिरेको संयोजकत्वमा गठन भएको समितिले समेत कर्मचारीको संख्या कटौती गर्न सुझाव दिएको थियो। 

यस उद्योग सञ्चालनको लागि कार्ययोजना सहित प्रतिवेदन पेश गर्न मन्त्रालयले डा.पुष्करराज बज्राचार्यको संयोजकत्वमा जगदिश अग्रवाल, राजेन्द्रबहादुर तुलाधार, यमलाल भुषाल र अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र औषधि लिमिटेडको प्रतिनिधि रहेको समिति गठन गरिएको छ।

के छन् योजना?

तत्कालको लागि आठ किसिमका (सिटामोल, जीवनजल,आइरन चक्की, कफ हिक्स, आयुर्वेदिक ट्याबलेट, एमजिट, डिस्टिल वाटर र ग्लिसिरिन) औषधि उत्पादन गर्ने उद्योगको लक्ष्य छ। यसको लागि सरकारले तत्काललाई १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप लगानी गर्नेछ। अर्थ मन्त्रालयबाट रकम निकासा भएपछि औषधी उत्पादनको लागि कच्चा पदार्थ खरिदको लागि टेण्डर गर्ने, व्यवस्थापकीय कामको जिम्मा निजी क्षेत्रलाई दिने र आगामी चार वर्षभित्र सरकारको ऋण तिर्ने लक्ष रहेको छ।

'औषधि नाफामा जाने उद्योग हो र सेवा उद्योग पनि हो, यस्ता उद्योग राज्यले चलाउनै पर्छ अबको चार वर्षभित्र हामीले सरकारबाट लगानी हुने १४ करोड ५६ लाख रुपैयाँ ऋण तिरी सक्ने छौ' औषधी लिमिटेडका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले भने। औषधी लिमिटेडले अबको केही दिन भित्रमानै स्थानीय स्तरमा भएका जडिबुटी माग गर्न आह्वान गर्ने जनाएको छ। केही वर्ष भित्र नै पूर्ण क्षमतामा १२० प्रकारको औषधी उत्पादन गर्ने लक्ष रहेको छ। त्यस्तै उद्योगको व्यवस्थापकीय जिम्माका लागि भने निजी क्षेत्रलाई आह्वान गर्ने उद्योग मन्त्री नवीन्द्रराज जोशिले बताए। लिमिटेडमा रहेका ९७ कर्मचारी मध्ये इच्छुकलाई स्वेच्छिक अवकाश दिने उद्योग मन्त्रालयको योजना छ।

यसरी बन्द भएको थियो उद्योग

२०२९ सालमा उच्च गुणस्तरीय औषधि उत्पादन गरी सुपथ मुल्यमा देशभर उपलब्ध गराउने उद्देश्यले शाही औषधी लिमिटेडको नाममा सरकारी औषधी कम्पनी स्थापना गरिएको थियो। गणतन्त्र आएसँगै यसको नाम परिवर्तन गरेर नेपाल औषधी लिमिटेड बनाइएको हो। २०५८ सालसम्ममा सरकारी स्वामित्वमा रहेको यो उद्योग नाफामा सञ्चालन गरिएको थियो। २०६० सालसम्म १ सय २० किसिमका औषधीहरु उत्पादन गर्दै आएको नेपाल औषधी लिमिटेड त्यसपछि भने औषधी उत्पादनमा क्रमश कमी आयो।

२०६६/६७ देखि विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्न नसकेकोले नेपाल सरकारबाट कच्चा पदार्थ आयात अनुमति पत्र नवीकरण नगरेको हुँदा कच्चा पदार्थ अभावले यसको उत्पादन रोकिन पुगेको थियो। उद्योगमा राजनीतिक हस्तक्षेप बढ्नु र आवद्ध कर्मचारीले उद्योगको क्षमता अनुसार काम पनि गर्न नसकेपछि सरकारले यो उद्योग पुन सञ्चालनमा ल्याउने वा बन्द गर्ने भन्ने विषयमा निर्णय लिन सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.