|
संविधान दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्चमा आयोजित कार्यक्रम

काठमाडौं : संविधान जारी भएको दिन हो असोज ३ गते। सरकारले तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर मनाउने समेत निर्णय गर्‍यो। तर संविधान दिवसको कार्यक्रममा मुलुकका मुख्य निकायका प्रमुखहरु सबै भेला हुन सकेनन्।  

मुलुक संविधान दिवसको उत्सवमा रमाइरहेका बेला उपराष्ट्रपति नन्दकिशोर पुन भेनेजुयलामा छन्। उनी असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

सभामुख ओनसरी घर्ती पनि संविधान दिवसको एक दिन अघि चीनतर्फ लागिन्। चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी आइतबार चीन प्रस्थान गरेकी हुन्।

संविधान प्रमाणिकरण गर्ने पूर्व राष्ट्रपति रामवरण यादव पनि अमेरिका पुगेका छन्। उनी क्यान्सरको उपचार गराउन संविधान दिवसको एक दिनमात्र अघि अमेरिका उडे। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सोमबार राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने कार्यक्रम तय गरेका  थिए। भलै अन्तिम समयमा उनको भ्रमण स्थगित हुनपुग्यो।

                                                                                         *********

मुलुकले राष्ट्रिय पर्व मनाइरहँदा विशिष्टहरु त्यसलाई कम प्राथामिकतामा राख्ने गरेका छन्। सबै एकताबद्ध भएर राष्ट्रिय पर्व मनाउनुपर्नेमा कोही विदेश जान्छन् कोही विभक्त भएर संविधान दिवस मनाइरहेका छन्। सम्माननीयहरु माझ मौलाइरहेको यो संस्कृतिलाई जानकारहरुले गैर जिम्मेवारीको पराकाष्टा भनेका छन्। सम्माननीयहरु प्राथामिकता निर्धारण गर्न अत्यन्तै कमजोर रहेको प्रष्ट भएको जानकारहरुको तर्क छ।

मुलुकमा प्रमुख उत्सव भइरहँदा विशिष्ट व्यक्तिहरु मुलुक बाहिर रहेको यो पहिलो पटक होइन। राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र स्थापना भएको दिन मनाइने प्रजातन्त्र दिवसको कार्यक्रममा बिहान सहभागी भएर गत वर्ष तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओली दिउँसो भारत भ्रमणमा निस्किएका थिए।  

राजनीतिक विश्लेषक हरि रोका उच्च ओहोदाका व्यक्तिमा गलत संस्कार विकास भएको बताउँछन्। राष्ट्रिय दिवसका दिन विदेश भ्रमण निर्धारण गर्नु गलत भएको उनको भनाई छ। सबै मिलेर राष्ट्रिय दिवस मनाउनुपर्नेमा विभक्त हुनु राजनीतिक संस्कारको कमी भएको उनले टिप्पणी गरे। 'मुलुकमा राष्ट्रिय दिवस रहेको अवस्थामा सरोकारवाला विदेश जानु उपयुक्त हुँदैन' रोकाले भने,' सबै एकै ठाउँमा उभिनुपर्ने बेला छुट्टै कार्यक्रम गर्नु कुनै राजनीतिक संस्कार होइन।'

राजनीतिक विश्लेषक झलक सुवेदी विशिष्टहरु प्राथामिकता निर्धारणमा कमजोर रहेको बताउँछन्। राष्ट्रिय दिवसको सट्टा विदेश भ्रमणलाई प्राथामिकता दिनु जायज नहुने उनको भनाई छ। 'अन्तर्राष्ट्रिय मञ्च जसको कार्यक्रम पूर्व निर्धारित हुन्छ त्यस्तोमा सहभागी हुनैपर्छ जस्तै संयुक्त राष्ट्रसंघको महासभा, असलग्न राष्ट्रहरुको शिखर सम्मेलन यस्तो कार्यक्रममा प्रतिनिधित्व गर्नु स्वभाविक मान्न सकिन्छ', सुवेदीले भने,' महत्वपूर्ण नहुने कार्यक्रममा समेत राष्ट्रिय दिवस छाडेर जानुले प्राथामिकता निर्धारण गर्न नसकेको प्रष्ट हुन्छ।'

सभामुख ओनसरी घर्तीको चीन भ्रमणको विषयमा उनले भने-' सभामुख हिजो जानुको सट्टा संविधान दिवसको अवसरमा सरिक भएर जान सक्नुहुन्थ्यो मुलुकको संविधान दिवस भन्दा चीनमा महत्वपूर्ण कार्यक्रम केही थिएन।'

के भन्छन् विशिष्टका सल्लाहकार? 

राष्ट्रिय दिवसको अवसरमा स्वदेशमै हुँदा उत्तम हुने विषयमा विशिष्ट व्यक्तिहरुको सचिवालयका अधिकारी पनि सहमत छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पराष्ट्र मामिला विज्ञ गोपाल खनाल राष्ट्रिय दिवसका दिन स्वदेश छाड्नु जायज नहुने बताउँछन्। 'विशिष्टहरुलाई विदेशमा आमन्त्रण हुनसक्छ हामीले क्यालेन्डर हेर्नुपर्छ त्यस दिन वा नजिकका दिन राष्ट्रिय दिवस छ भने सम्बन्धित देशलाई दिवसको जानकारी गराई भ्रमण स्थगित गर्ने हिम्मत पनि हुनुपर्छ' उनले भने।

तत्कालीन प्रधानमन्त्रीले ओलीले किन त्यसो गर्न सक्नुभएन त भन्ने थाहाखबरको प्रश्नमा खनालले कुटिलता प्रस्तुत गर्दै जवाफ दिए-'जटिल परिस्थितिको समान्यीकरणको लागि भ्रमण महत्वपूर्ण थियो। संयोगले प्रजातन्त्र दिवसकै दिन भ्रमण तय भयो तर औपचारिक कार्यक्रममा सहभागी भएर मात्रै  प्रधानमन्त्री भारत प्रस्थान गर्नुभएको थियो' उनले भने।

संविधान दिवसका दिन सभामुख चीनमा छिन्। उनले संसद परिसरमा आइतबार कार्यक्रम गरेर चीन प्रस्थान गरिन्। संविधान दिवस भन्दा महत्वपूर्ण चीनमा के थियो भन्ने थाहाखबरको प्रश्नमा सभामुखका प्रेस सल्लाहकार बबिन शर्मा भन्छन् 'सभामुख पूर्व निर्धारित कार्यक्रम अनुसार नै चीन जानुभएको हो।' सभामुखले प्राथामिकता निर्धारण गर्न नसकेको आरोप छ नि? भन्ने प्रश्नमा शर्माले भने ' त्यो विल्कुलै होइन उहाँ सहभागी हुनैपर्ने कार्यक्रम भएको भएको भए चीन जानुहुन्नथ्यो, संसदमा अघिल्लो दिन कार्यक्रम गरेरै चीन जानुभएको हो।'

यता पूर्व राष्ट्रपतिको सचिवालयले भने प्रोष्टेट क्यान्सरको उपचारका लागि समय तय भएकाले आइतबारनै अमेरिका प्रस्थान गरेको जानकारी दिएको छ। उनको बुधबार स्वास्थ्य परीक्षण हुने सचिवालयको भनाई छ। 

विशिष्टहरु राष्ट्रिय दिवसका दिन बाहिर हुँदा र विभक्त भएर कार्यक्रम मनाउँदा दिवस खल्लो हुने गरेको छ। राजनीतिक विश्लेषक हरि रोका भन्छन्-'राष्ट्रिय पर्वलाई उल्लासमय बनाउन विशिष्टले वेवास्ताको संस्कार अन्त्य गर्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.