|

बुटवल : प्रदेश-५ सरकारले प्रदेशको अवस्थाबारे स्थितिपत्र तयार गरेको छ। प्रदेशको आर्थिक र सामाजिक अवस्थाबारे १२ वटा जिल्लाको तथ्यांक विश्लेषण गरी प्रदेश सरकारले स्थितिपत्र तयार गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थितिपत्र स्वीकृत गर्दै यही २९ चैतमा बस्ने प्रदेशसभा बैठकबाट सार्वजनिक गर्ने निर्णय गरेको छ।

स्थितिपत्रमा प्रदेशको जनसंख्या, मानवविकास सूचकांक, प्रतिव्यक्ति आय, प्रदेशका विकास निर्माणको अवस्थालगायतका विषयहरु समेटिएको प्रवक्ता चौधरीले जानकारी दिए।

उनका अनुसार सरकारले बनाउने योजनाहरु स्थितिपत्रलाई आधार मानेर तयार हुनेछन्। ‘हामीले अहिले प्रदेशको समग्र अवस्था के छ भन्ने जानकारी राख्न र त्यसैअनुसारका विकासे योजना बनाउनका लागि स्थितिपत्र तयार गरेका हौं,–उनले भने–यसले एउटा अवस्थाको बारेमा चित्र देखाउने छ र त्यसैअनुसार विकासको काम अघि बढाउन सहज बनाउनेछ।’

यस्तै मंगलबारै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ अन्तरगतका गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृति दिने निर्णय गरेको छ।

बैठकले प्रदेश ५ को प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ।

मन्त्रीपरिषद् बैठकले प्रदेश ५ सञ्चित कोष सञ्चालन कार्यविधि २०७४ स्वीकृत गरेको छ। प्रदेश ५ सरकारले २९ गते प्रदेश सभाबाट स्थिति पत्र सार्वजनिक गर्ने छ भने ३० गते चालू आर्थिक वर्षको बजेट पेस गर्ने तयारी गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.