|

चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले चितवनको विकट शक्तिखोर गाउँका दुई चेपाङ र एक दलित बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका हुन्।

शक्तिखोर स्थित चतुरमुर्खी माध्यामिक विद्यालयमा बिहीबार आजोजित कार्यक्रममा उनले तीन बालबालिकालाई विद्यालय भर्ना गराएका हुन्। उनले स्थानीय शहनशिला चेपाङलाई कक्षा ३ मा र अर्जुन चेपाङलाई कक्षा ४ मा र अपांग दलित बालिका अञ्जना विकलाई कक्षा ५ मा भर्ना गराएका हुन्। उनले बालबालिका भविष्यका कर्णाधार भएकाले उच्च शिक्षा पढेर देशको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरेका थिए।

गृहमन्त्री बादलले आफूले भर्ना गराएका बालबालीकालाई काखमा लिएर राम्रो पढ्न आग्रह गरेका थिए।

चेपाङ समुदायमा विद्यालय जाने बालबालिकाको संख्या न्यून छ। सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानले उक्त समुदायमा विद्यालय भर्नाबारे राम्रो सन्देश जाने विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण पुरीले बताए।

बालबालिकालाई भर्ना गराएपछि आयोजित कार्यक्रममा गृहमन्त्री बादलले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने जानकारी गराए। उनले स्थानीय क्षेत्रमा सुरक्षामा कुनै कमजोरी भएको देखिएमा केन्द्रबाट हस्तक्षेप गरेरै भएपनि सुरक्षा प्रदान गर्ने बताए।

उनले अब देश विकासको गति तीव्र हुने बताए। उनले भने, ‘अब हाम्रा अगाडी नयाँ कार्यभार छन्, त्यो भनेको विकासको कार्यभार हो।’

उहाँले विदेशमा भौतारिइरहेका युवाहरूलाई स्वदेश फर्काउने चाहना सरकारको रहेको समेत बताए। यसका लागि देशलाई समृद्धिको शिखरमा पुर्याउनुपर्नेमा जोड दिए।

अज्ञानताले देशको सेवा र विकास गर्न नसक्ने भन्दै उनले विकासको मार्गमा देशलाई लैजान देश शिक्षित हुनु अनिवार्य भएको बताए। शिक्षाको चेतना दिन उनले सबैलाई आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.