|

चितवन : तेइसौँ वन्यजन्तु सप्ताह शुक्रबारबाट सकिएको छ। साताव्यापी रूपमा भएको वन्यजन्तु सप्ताहको समापनका अवसरमा आज चितवनको सौराहामा संरक्षणमा योगदान दिने नौ जनालाई कदरपत्रसहित सम्मान गरिएको छ। कार्यक्रममा वन्यजन्तुबाट पीडित छ परिवारलाई समेत राहत वितरण गरिएको वन्यजन्तु सप्ताह आयोजक समितिका सदस्य जीतु तामाङले बताए। 

सम्मान पाउनेहरूमा धनलाल तामाङ, भगवान थापा, माहिला घले, दिपास महत्तो, शिवुप्रसाद रिमाल, विष्णुप्रसाद रिमाल, दिलबहादुर राई, कालुमान तामाङ र एनिमल राइट क्लबका सुराजन श्रेष्ठ रहेका छन्। 

समापनका क्रममा शुक्रबार वन्यजन्तुको आक्रमणबाट पीडित आशिका लोप्चन, जोगिन्द्र मुखिया, सक्षम महत्तो, आमोज महत्तो, हेमन्त तामाङ र सन्तोषी तामाङलाई राहत सहयोग गरिएको थियो। 

वन्यजन्तु पीडित कोषबाट घाइते मुखियाको उपचारका लागि पाँच हजार ५० रुपैयाँ नगद सहयोग गरिएको थियो भने अन्य बालबालिकाहरूलाई स्कुल झोला, पोसाक र कापी कलम वितरण गरिएको संरक्षणकर्मी डोमा पौडेलले जानकारी दिए।

प्रकृति संरक्षणमा योगदान दिएका नेचर गाइड नारायण रिजाल, युवनारायण पौडेल र रामकृष्ण महतोलाई प्रशंसापत्र वितरण गरिएको थियो। समापनका क्रममा बोल्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त प्रमुख रामकुमार अर्यालले निकुञ्जको आसपास क्षेत्रको संरक्षणमा समेत लाग्न सबैमा अनुरोध गरे। 

सप्ताहभर गरिएका गतिविधिबारे चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी गराएका थिए। 

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघ संरक्षण उपसमिति, वडा कार्यालय, जिप सफारी समिति, मृगकुञ्ज उपभोक्ता समिति, झुवानी सामुदायिक पुस्तकालय, पर्यावरणीय कृषक मंच, विभिन्न सामुदायिक वन, नेचर गाइड एसोसिएसन, रत्ननगर नगरपालिका तथा वर्ल्ड एजुकेसन सोसाइटीलगायत सौराहाका विभिन्न संघसंस्थाको सहभागितामा वन्यजन्तु सप्ताह मनाइएको थियो। सप्ताहमा सरसफाई, दौड, अन्तर्क्रिया तथा वन्यजन्तुसम्बन्धी जानकारीमूलक प्रस्तुति देखाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.