|

चितवन : चितवनको सौराहामा पालनपोषण गरेर राखिएको छ एउटा गैंडाको बच्चा (केटो)। बाढीले बगाएर भारतबाट उद्धार गरिएको केटो अहिले तन्दुरुस्त छ।

निकुञ्जका चिकित्सकका अनुसार केटोलाई अहिले कुनै संक्रमण छैन। चिनियाँ टोलीले पनि स्वस्थ छ भन्ने प्रमाणित गर्‍यो भने केटो चीन जानेछ। तर, जाने नजाने भने चिनियाँ टोली आएर स्वास्थ्य परीक्षण गरेपछि मात्रै थाहा हुनेछ। निकुञ्ज विभाग भने केटोलाई चीन पठाउने तयारीमा छन्।

चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए।

‘चितवन निकुञ्जबाट मौखिक प्रस्ताव आएको छ, त्यो केटो अब जंगलमा गएर पनि एक्लै बाँच्न सक्दैन,' खड्काले भने, 'पशु चिकित्सकसहितको चिनियाँ टोलीले स्वास्थ्य परीक्षण गरेर बाँच्छ भन्ने भो भने पठाइन्छ।’ 

अहिले केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा राखेर पालनपोषण गरिंदै आइएको छ। चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल केटोलाई चीन पठाउन निकुञ्जले प्रस्ताव गरिसकेको बताउँछन्। सकेसम्म उक्त केटो पठाउन पाए जंगलबाट तीनवटा मात्रै नियन्त्रणमा लिनुपर्ने भएकाले सहज हुने उनको भनाइ छ।

दुई जोडी गैंडा चीन पठाउने सरकारको निर्णय छ। ती सबै गैँडा बच्चा (केटो) हो।  वयस्क पठाउँदा नबाँच्ने सम्भावना हुने भएकाले केटो पठाउन लागिएको हो।

गत साउन २८ मा बाढीले बगाएर भारतको शिवपुरीगढी पुगेको उक्त केटोलाई गत भदौ १० मा उद्धार गरेर सौराहा ल्याइएको हो। केटोलाई दैनिक दुध, बन्दा, गाँजर, स्याउ दिने गरिएको छ भने दिनमा चराउने गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल अहिले केटो तन्दुरुस्त रहेको बताउँछन्। बेला–बेलामा चिकित्सकले उसको स्वास्थ्य अवस्थाबारे परीक्षण गरिरहेका छन्। कोषका पशु चिकित्सक डा‍. अमिर षडौलाले नियमित परीक्षण हुने गरेको बताउँदै अहिले स्वास्थ्य राम्रो भएको उल्लेख गरे। 

केही दिनअघि आएका एक जना चिनियाँ प्रतिनिधि गैंडाको अवस्था अध्ययन गर्दै छन्। चितवन निकुञ्जको टोलीसहित विभिन्न क्षेत्रमा गैंडाको बच्चा रहेको स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख बेदकुमार ढकालले जानकारी दिए।

पहिलो चरणमा दुई वटा पोथीलाई नियन्त्रणमा लिएर सौराहामा निर्माण गरिएको बोमामा राखिने निकुञ्जले जनाएको छ। बोमामा राखेर आगामी असार महिनाभित्र चीन पठाउने तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.