|

चितवन : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछामार्ने पेशा छाडेर मागेर हिंड्न थाले।

सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार भयो। नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित भरतपुर आँखा अस्पतालमा निशुल्क उपचार गरेपछि उनी आँखा देख्ने भए।

दृष्टिविहिन भएर मागेर हिंड्ने एक बृद्धाले संसार देख्ने भएपछि उनलाई उद्धार गरेर ल्याएका केशब अधिकारी, चिजकुमार मास्के, कृष्णराज धरेल र रामप्रसाद कँडेल खुसी भए।

अहिले पुरानै पेशा माछा मारेर आफ्नो गुजारा गर्दै छन् माझी। सल्यानटारको नर्सिङधाम आँखा उपचार केन्द्रका नेत्र सहायक रामबाबु कँडेल भन्छन्, ‘दुईदिन अघि भेट भएको थियो, उनी मजाले माछामार्दै छन्।’ पुरानै पेशामा फर्किएको देख्दा खुसी भएको कँडेल बताउछन्।

चैतको २० गते चितवनको पदमपुरमा आँखा शिविर हुँदा धेरै वृद्धवृद्धाहरूमा मोतियाविन्दु देखियो। पुर्वी चितवनको पदमपुरकी ५२ वर्षीया चित्रकुमारी चौधरी, ६५ वर्षीया खुंकी थरुनी, रुपमायाँ तिमिल्सिना, ६२ वर्षका फगुना महत्तो, ६५ वर्षकी न्याउरी महत्तो, ६८ वर्षकी राती महत्तो लगायत ९ जनाको पनि भरतपुर आँखा अस्पतालले निशुल्क शल्यक्रिया गरी आँखा देखाएर पठायो।

‘असहाय, गरीबहरू हामी खोजीखोजी ल्याउँछौँ र उपचार गर्छौँ', नेपाल नेत्रज्योति संघका सदस्य केशव अधिकारीले भने, 'कहिँकतै फेला परे ल्याईदिए हुन्छ, उहाँहरूलाई आँखा देखाएर पठाउँछौं।’

गएको चैत महिनामा पनि चितवनको देवघाटमा बसने १२ जना वृद्धवृद्धाहरूको उपचार भयो। उनीहरूको आधा रकम नेत्रज्योती संघ चितवनका कार्यबाहक सभापति कृष्णराज धरेलले सहयोग गरे। आधा रकम भने अस्पतालले सहयोग गरेर उनीहरू आँखा देख्ने भएर फर्किए।

कालिका नगरपालिकाका ८० वर्षीय टनबहादुर परियार होस् या खैरहनीका ६० वर्षीय मनकुमारी चौधरी, भरतपुर आँखा अस्पतालले निशुल्क शल्यक्रिया गरेपछि अहिले आँखा देख्ने भएका छन्। उनीहरूका लागि हातबाट शल्यक्रिया गर्दा ६ हजार ८१० रुपैयाँ लाग्छ मने आधुनिक मेसिनबाट गर्दा १२ हजार ६१० रुपैयाँ पर्छ। यती रकम जुटाउन पनि धौधौ पर्नेहरू निशुल्क सेवा पाउँदा खुसी हुने गरेका छन्।

भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरे भन्छन्, ‘मोतियाविन्दु भएर आएका बिरामीलाई पैसा छैन भनेर हामी फिर्ता पठाउँदैनौं।’ उनका अनुसार अन्य विरामीलाई समेत सहुलियतमा सेवा दिने गरिएको छ।

पैतिस सय विपन्नको शल्यक्रिया

अघिल्लो वर्ष भरतपुर आँखा अस्पतालले मात्रै ३ हजार ५२२ जना विपन्नहरूको आँखाको शल्यक्रिया गरेको छ। त्यसमा २ हजार १६ जनाले निशुल्क सेवा पाएका छन् भने १ हजार ५०६ जनाले ५० प्रतिशत छुटमा सेवा पाएका छन्।

अघिल्लो वर्ष भरतपुर आँखा अस्पतालमा १ लाख ७ हजार ५३९ जनाको आँखा परिक्षण भएको थियो। जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित ९ वटा आँखा उपचार केन्द्रमा २८ हजार ५६ले सेवा पाएको र विभिन्न आँखा शिविरबाट २४ हजार ७७६ जनाले सेवा पाएको तथ्यांक आँखा अस्पतालसँग छ।

कुल गरेर १ लाख ६० हजार ३७१ जनाले सेवा पाएको सूचना अधिकारी घिमिरे बताउँछन्। त्यसमा ७ हजार ४२३ जनाको शल्यक्रिया भएको तथ्यांक छ। नेपाल नेत्रजयोति संघले विभिन्न तालिम, जानकारी प्रशिक्षणका कार्यक्रम समेत गरेर आँखा सुरक्षाबारे जानकारी दिने गरेको संघका कार्यबाहक सभापति कृष्णराज धरेलले बताए।

३८ वटा शाखा भएको नेत्रज्योति संघबाट देशका विभिन्न क्षेत्रमा १८ वटा आँखा अस्पताल छन् । ८० बढी आँखा उपचार केन्द्र छ।

९० प्रतिशत आँखाका रोगीको उपचार संघमार्फत नै

नेपाल नेत्रज्योती संघका केन्द्रिय कोषाध्यक्ष चिजकुमार मास्के नेपालमा आँखाका बिरामी मध्ये ९० प्रतिशतलाई संघद्धारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट सेवा दिने गरिएको दावी गर्छन्।

ती अस्पतालमा सेवा प्रभावकारी र सस्तो भएकाले भारत, बंगलादेश र भुटानका विरामीसमेतले उपचार लिने गरेको मास्के बताउछन्। उनले सरकारले गर्न नसकेको काम दाताहरूको सहयोगमा गरिरहेको बताए।

ठाउँठाउँमा आँखा बैंक समेत सुरु गरेको संघले गएको एक वर्षमा देशभर गरेर कुल २ करोड ७७ लाख ३२ हजार १८६ लाई ओपिडी सेवा दिएकोमा ३७ लाख २८ हजार ६२२ जनाको शल्यक्रिया भएको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.