|

काठमाडौं : सुनचाँदी व्यवसायी भन्छन्– बजारमा दैनिक ४० केजी सुनको माग छ तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ। यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आउने अनुमान छ। 

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा चार हजार सात सय ५० केजी सुन आयात भएको छ। जसको मूल्य २० अर्ब ३५ करोड ७७ लाख रुपैयाँ पर्छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो। आर्थिक वर्ष ०७३-७४ को आठ महिनामा एक अर्ब ५६ करोड ९२ लाख मूल्यबराबरको तीन हजार ६ सय ५० केजी सुन आयात भएको विभागको तथ्यांक छ।

समीक्षा अवधिमा सरकारले सुन आयातबाट एक अर्ब ९९ करोड ५० लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ। अघिल्लो वर्षको सोही अवधिमा सुन आयातबाट एक अर्ब ५३ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो। अहिले सुन आयातको भन्सारदर प्रति १० ग्राम चार हजार २०० रुपैयाँ छ। सरकारले अघिल्लो वर्षदेखि सुनको कोटा बढाएर दैनिक २० केजी आयात गर्ने व्यवस्था गरेपछि गत आवको पछिल्ला महिना र चालू आवमा सुन आयात बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए।

त्यसअघि प्रतिदिन १५ केजी सुन आयात गरिन्थ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.