|


चितवन : नयाँ पिँढिमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष कटेका रूपसिंह चेपाङ(प्रजा) । विहिवार विहानसम्म उनी ओडारमै थिए। 

दाताको सहयोगमा नयाँ घर बनेपछि विहिबारमात्रै स्थानीयले उनलाई सारेर नयाँ घरमा भित्र्याए। पिँढीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो। आगन्तुकसँगै मजैले गफिंदै पनि थिए। 

‘घर त बनायो, के खाएर बाँच्ने, खानेकुरो दिनुपर्यो, पैसा दिनुपर्यो, घर त टोक्न सक्तैन हजुर ।’ राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, केही वडाध्यक्ष, पत्रकार र सहयोगीहरुका अगाडि उनले भने। ओडारमा बस्दा जंगली कन्दमुल खाने र छोरी ज्वाईले दिएको खाएर बस्थे रुपसिंह। 

माटोको गाह्रो र जस्ताको छाना भएको घर बनेको छ। घर उद्घाटनका लागि विहिवार ध्वजा पतका सहित बेलुन फुलाएर रंगिन पारिएको थियो। अतिथिहरुका लागि समेत गाउँमा भोज थियो।

चितवनको विकट क्षेत्र राप्ती नगरपालिका वडा नम्बर ११ मा पर्ने साविक लोथर गाविसको यूर्ती भन्ने स्थानमा पाखो बारीको कान्लोमा घर छ। माथि सडकबाट ढुंगो गुल्टियो भने सिधै घरको धुरीमा पुग्छ। पहिरो गयो भने घर नै पुरिने अबस्थाको छ । यसअघि पनि ओढारमा बस्दा पहिरोले पुरेकाले सानो प्वालबाट निस्किएको अनुभव स्थानीयहरु सुनाउँदै थिए। 

दशकौंदेखि ओडारमा बस्दै आएका रुपसिंहलाई यसपटक वेल्जियममा बस्ने चितवनका कृष्णप्रसाद रेग्मी लगायतले उठाएर पठाएको करिव ५ लाख लागतमा नयाँ घर बनाइएको थियो।

विहानसम्म ओडारमा बस्दै आएका उनी दिउँसोदेखि त्यही नयाँ घरमा सरेका छन्। उहाँलाई राप्ती नगरपालिकाकी प्रमुख बरालले घर सार्नुभयो । रिवन काटेर बरालले घरको उद्घाटन समेत गरिन्। 

घर निर्माण गरेकोमा प्रशंसा गर्दै नगरप्रमुख बरालले अब गाउँगाउँमा सस्तोमा जग्गा बेच्नबाट रोक्न स्थानियलाई आग्रह समेत गरिन्। चेपाङका लागि शिक्षा क्षेत्रमा आवासिय रुपमा स्थानिय सरकारले लगानी गर्ने समेत उनले बताईन्।

घर माथि खोरीया फाँडेकाले अब भने पहिरोको जोखिम भएको भन्दै उनले यसतर्फ सचेत समेत गराईन्। घर भएपनि उहाँलाई खाने अन्नको समस्या रहेको स्थानिय रुपेश चेपाङको भनाई छ।

‘बास त दियो तर खाना छैन, अस्तिदेखि नै त्यही भन्दै हुनुहुन्छ’, रुपेशले दुखेसो पोखे। आज घर सरेपछि रुपसिंहको बस्ने ओडारमा भने बाख्रा र सुंगुर सारिएको छ।

चेपाङका अगुवा झयापुराम प्रजाले ओडारमा बस्ने चेपाङका लागि घर बनेकोमा खुसी व्यक्त गरे। यस्तै सहयोग अन्तबाट पनि आउनुपर्नेमा उनको भनाई थियो। 

घर सार्ने कार्यक्रममा स्थानिय चेपाङहरुले गिठा, भ्याकुर र चिउरीको माला लगाईदिएर अतिथिलाई स्वागत गरेका थिए । सोही क्रममा चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्मा र पत्रकार तुलमान गुरुङलाई सम्मान गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.