'२ नम्बरी प्रदेशको स्टिकर हटाउन मुख्यमन्त्रीलाई आग्रह'

|

जनकपुरधाम ः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले संघीयतालाई समाप्त पार्न पर्दा पछाडिबाट षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। देशमा संघीयता स्थापनापछि तीनवटै तहको निर्वाचन समाप्त भइसके पनि केन्द्र सरकारले प्रदेश सरकारले नेतृत्व हस्तान्तरण नगर्नु तथा प्रदेशको आर्थिक, शासन प्रशासन, श्रोत सधान प्रदेशलाई हस्तान्तरण नगरी संघीयतालाई समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका हुन्। 

अध्यक्ष यादवले विना श्रोत–साधनको स्थानीय तहलाई शिक्षा र स्वास्थ्य जस्ता संवेदनशिल विषयको जिम्मेवारी सुम्पिएर केन्द्र सरकारले ठूलो गल्ती गरेको बताउदै उनले भने–‘प्रदेश सरकार वा केन्द्र सरकारले नै शिक्षा र स्वास्थ्य सेवाको सञ्चालन गर्नुपर्‍थ्यो तर, सरकारले साधन र श्रोत नै नभएको स्थानीय तहलाई शिक्षा र स्वास्थ्य जिम्मेवारी दिएर गलत निर्णय गर्‍यो।’

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तराई मधेशमा भएको नरसंहारको समयमा जवरजस्ती लादिएको नेपालको संविधान संशोधनवीना स्वीकार नहुने बताए। उनले भने – ‘देशमा संघीयता, स्थानीय, प्रदेश र संघको निर्वाचन पनि भयो, तर यसले सबै समस्या सामाधान भयो भने सोच्नु मूर्खता हुन्छ, अहिले पनि धेरै काम बाँकी छन, जुन यहाँको जनताको लागि आवश्यक छ।’

अध्यक्ष यादवले सरकारको पहिलो जिम्मेवारी भनेको संविधान संशोधन गरेर संघीय प्रणालीलाई मजबुत बनाउनु, दोश्रो स्थानीय तहको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्नु र अहिले हावाको भरमा चलिरहेको प्रादेशिक सरकारलाई शासन प्रशासन, श्रोत साधन र संघीयतालाई मजबुत बनाउनु सरकार जिम्मेवारी भएको बताए । उनले भने–‘केन्द्र सरकारले प्रदेशको कानून बनाउन भन्दा पनि संघीय प्रणालीलाई रोक्ने चेष्टा गर्दैछ, यो वर्षौ–वर्ष सम्म आफु मात्र शासन प्रशासन चलाउन गोरा समूदायको नश्लवादी चिन्तन हो।’

उनले संघीय गणतन्त्रलाई स्थापित गराउन र संविधान संशोधन गर्न सरकारलाई समर्थन गरे पनि सरकारले संघीयता विरोध कार्य गरिरहेको आरोप लगाए। प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी उपस्थित कार्यक्रममा अध्यक्ष यादवले २ नम्बरी प्रदेशको धब्बा लागेको प्रदेशलाई देशकै १ नम्बरमा कुदाउन आग्रह गरे। उनले इतिहासमै पहिलो पटक प्रदेश २ मा मधेशी सरकार भएकोले जनतालाई आफ्नो सरकारको अनुभूति गराउन विकास र समृद्धिका लागि गति दिनुपर्ने आवश्यक औल्याए। उनले भने – ‘मुख्यमन्त्री, मन्त्री तथा सांसदहरु यही बसीरहन भएको छ, उहाँहरुलाई २ नम्बरको स्टिकर हटाउन म आग्रह गर्छु।’  

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष वालकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, संघका सांसदहरु डा. सुरेन्द्र यादव, उमाशंकर अरगरिया, संघीय मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सरोज कुशवाहा, सांसदहरु रामअशिष यादव, शैलेन्द्र यादवसहितका व्यक्तिहरुलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.