|

प्रदेश २ को अस्थायी मुकाम हो- जनकपुरधाम उपमहानगरपालिका। जनकपुरधाम धनुषाको सदरमुकाम जनकपुरधाम पनि हो। विकास तथा समृद्धिका हिसाबले प्रदेश २ मा अगाडि रहेको यस उपमहानगरपालिकालाई कसरी अझ समृद्ध बनाउने भन्ने स्थानीय सरकारको हातमा छ। गत असोजमा तराईमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित यहाँका जनप्रतिनिधि बल्ल कामको मेसो पाउन थालेका छन्।

जनकपुरधाम धार्मिक तथा पर्यटकीय हिसाबले पनि धेरै महत्त्वपूर्ण ठाउँ हो। यहाँ ऐतिहासिक रामजानकी मन्दिर पनि छ। मन्दिरमा विवाह पञ्चमी, रामनवमी, जानकी नवमी, झुला, अन्तरगृह परिक्रमा, छठ पर्व तथा प्रत्येक महिना लाग्ने पूर्णिमा मेलामा देश विदेशबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। पर्यटकीय सम्भावना बोकेको यस उपमहानगरपालिकालाई समृद्ध बनाउने स्थानीय सरकारको लक्ष्य कस्तो छ? यस विषयमा थाहाखबरका धनुषा संवाददाता गोविन्द महतोले यस उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग गरेको कुराकानी :

जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि के कस्ता काम गर्नुभयो?

जनकपुरधामको विकासमा विभिन्न चुनौतीहरू देखापरेका छन्। सबै चुनौतीलाई स्वीकारेर सामना गर्ने र राजनीतिक आन्दोलनलाई प्राथमिकतामा राखेर जनकपुरधामको विकासलाई तीव्रता दिने निर्णय गरेको छु।

मैले पदभार ग्रहण गरेपछि फोहोर जनकपुरधामलाई स्वच्छ, सफा र हरित जनकपुरधामधामका लागि सर्वप्रथमतः जानकी मन्दिरबाट नै सरसफाईको आरम्भ गरेँ। सार्वजनिक बिदाका दिन पनि म कार्यालयमा आएर जनतासँग भेटघाट गर्नेदेखि लिएर थन्किएका विभिन्न योजनाहरूका बारेमा कर्मचारीहरूसँग जानकारी लिने गर्छु।

उपमहानगरमा सेवाग्राहीबाट कस्ता गुनासो आउँछन्?

वर्षौंदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा अहिले जनप्रतिनिधिहरू आएपछि रिक्त पदमा देखिएको समस्या बल्ल समाधान भएको छ। कर्मचारीहरूभित्र पनि आफ्नै किसिमको मनपरीतन्त्र चल्दै आएको थियो। उक्त कार्यलाई व्यवस्थित गर्नका लागि हाम्रो कार्यालयमा कार्यरत कर्मचारीलाई १० देखि ५ बजेसम्म सबै दिन निरन्तर रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न निर्देशन दिइसकेको छु। बल्ल सबै कुरा मिल्दै जाँदै छ।

कार्यालय बन्द रहेको बेलामा पनि आवश्यक परेको बेलामा कर्मचारीलाई बोलाएर विभिन्न योजनाको कार्य प्रगतिबारे सोध/खोज गरी विकास निर्माण कार्यदेखि सरसफाई कार्यलाई समेत निरन्तरता दिई योजनाअनुसार अघि बढ्दै छु।

कार्यालयभित्र देखिएका अपारदर्शिता र भ्रष्टाचारलगायतको कार्यलाई पनि निरुत्साहित गरी निर्मूल गर्ने कार्यमा सफलता पाइरहेको छु। आमजनताको काम गर्ने क्रममा नागरिकताका लागि चाहिने सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद, घरजग्गा खरिद बिक्रीको दर्ता, बसाइँसराइको कार्यदेखि विभिन्न कार्यमा हुँदै आएको असहज र अनाहक जटिलता देखाउने र रकम लिने प्रवृत्तिलाई तत्काल निरुत्साहित गर्न सफल भएको छु।

मैले काम गर्ने क्रममा करिब ९० प्रतिशत सफलता पाएको छु भने शतप्रतिशत सफल हुनेमा विश्वस्त छु। यस उपमहानगरपालिकाको कार्यालयलाई चुस्तदुरुस्त र जनताको कार्य छिटो छरितो र सहज तथा सर्वसुलभ रूपमा पारदर्शी ढंगले कार्यको लागि कर्मचारीलाई निर्देशन दिइसकेको छु।

देखिएका समस्याहरू कुनै एउटा तहले समाधान गरेर हुने होइन, त्यसैले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयकारी भूमिकामा समस्याहरूलाई औल्याउँदै नीतिगत रूपमा व्यवस्थित गरिनुपर्छ जस्तो मलाई लाग्छ।

चुनावमा जनतासँग गरेका प्रतिवद्धता के कति पूरा गर्नुभयो?

२० वर्षको अन्तरालमा भएको स्थानीय तहको निर्वाचनपछि मूल रूपमा गर्नुपर्ने कामहरू धेरै छन्। नगरलाई व्यवस्थित गर्न सरसफाईदेखि सडक, ढल, नाला र शिक्षा, स्वास्थ्य खानेपानीलगायतका क्षेत्रमा तत्काल गर्न सकिने योजनाहरूलाई हामीले अघि बढाएका छौँ।

विशेष गरेर स्मार्ट सिटीका लागि दीर्घकालीन योजनाहरू ल्याएर खडा गर्ने योजना अघि बढ्दै छ। खास गरेर यहाँ हरेक क्षेत्रमा जति पनि बिग्रेको संरचनाहरू छन्, त्यसलाई तत्काल मर्मत सम्भार गरेर २५ वटै वडाहरूमा सरसफाईदेखि लिएर यहाँ रहेका पोखरीको विकास गर्ने काम गर्नेछौँ। हामीले अहिले प्रारम्भिक चरणका कामहरू थालिसकेका छौँ। तत्काल सबै क्षेत्रमा सामान्य सुधार देखिए पनि पूर्ण सुधार दीर्घकालीन रूपमा देखिनेछ।

उपमहानगरपालिकाभित्र धैरै समस्याहरू छन्, तीमध्ये तत्काल समाधान गरिनुपर्ने समस्याहरू केके छन्?

जनकपुरधाममा समस्याको पोको नै छ। खासगरी एसियाली विकास बैँकको ऋण सहयोगमा संचालित एकीकृत शहरी विकास परियोजनाअन्तर्गत सडक, नाला, ढलका लागि भएका अवरोधहरू हटाउन लागिपरेका छौँ हामी। यहाँ सबैभन्दा कठिन कार्य भनेको विना मुआब्जा सडक फराकिलो गर्दा घर भत्काउने समस्या थियो तर अहिले धैरै हदसम्म सम्भव भएको छ।

त्यस्तै, यहाँ लामखुट्टेको समस्या धेरै छ। ढल निकासको समस्या, जथाभावी चौपाया छोड्ने समस्या, यी सबै विषयवस्तु एउटैसँग जोडिएको छ। शहरी विकास परियोजनाको काम सम्पन्न भएपछि यी यावत् समस्याहरू आफैँ समाधान भएर जान्छन्।

यो पहिले जनकपुर नगरपालिका थियो। त्यसलाई हामीले पहिलो बैठकबाटै जनकपुरधाममा परिणत गर्‍यौँ। धाम भनेको धार्मिक केन्द्र हो। यही रूपमा परिचय गराउन र धार्मिक पर्यटनको विकास गर्न सक्नु यहाँको लागि वरदान हो। त्यसैले अब कसरी विश्वका हिन्दुहरूको आस्थाको केन्द्र जनकपुरधामलाई चिनारी गराउने र कसरी वृद्धि विकास गराउने भन्ने चिन्ता छ।

स्थानीय तह संचालनका नीतिगत समस्याहरू केके छन्?

स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार स्थानीय तहलाई सरकार भने पनि व्यावहारिक रूपमा धेरै कठिनाइहरू छन्। केन्द्र सरकारले गाउँगाउँमा सिंहदरबार भने पनि हालसम्म केही कार्यालयबाहेक अन्य कार्यालयहरूको काम, कर्तव्य र अधिकार हामीकहाँ आइपुगेको छैन। जति पनि सरकारी कार्यालयहरू छन्, त्यो नेपाल सरकारले न त आफ्नो मातहतमा राख्न सक्यो, न स्थानीय सरकारलाई नै हस्तान्तरण गर्न सकेको छ।

यस्ता कुराहरूमा धैरै कठिनाइ छ। विशेषगरी सेवाग्राहीले सुशासन दिनुपर्ने हो तर कार्यालय हाम्रो मातहत नआइसकेपछि विभिन्न किसिमका गुनासाहरू हामीकहाँ आइपुग्छन् र हामीले त्यसलाई सम्बोधन गर्न सक्दैनौँ। त्यसैले सरकार अविलम्ब रूपमा गाउँगाउँमा सिंहदरबारको नारालाई सार्थक बनाउन जरुरी छ।

अब यसमा देखिएका समस्याहरू कुनै एउटा तहले समाधान गरेर हुने होइन, त्यसैले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयकारी भूमिकामा समस्याहरूलाई औल्याउँदै नीतिगत रूपमा व्यवस्थित गरिनुपर्छ जस्तो मलाई लाग्छ।

तपाईंको योजनामा अबको पाँच वर्षमा जनकपुरधाम उपमहानगरपालिका कस्तो हुन्छ?

ठ्याक्कै यस्तै हुन्छ भन्ने कुरो भन्न अप्ठ्यारो छ तर जनकपुरधामलाई रामायणकालीन झल्को दिने किसिमको विकासको क्रममा हामी लागेका छौँ। त्यसका खाकाहरू तयार हुँदै छन्, कतिपय भइसकेका छन्।

यहाँको विकासका लागि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य मिलेर मात्र सम्भव छैन। हामी सम्पूर्ण नगरवासी एक भएर अगाडि बढ्नुपर्छ। राजनीतिक दलले दलभन्दा माथि उठेर अगाडि बढौँ भन्ने मान्यताका साथ अगाडि बढ्नुपर्छ ।

यहाँका नागरिक समाज, बुद्धिजीवी, विद्यार्थी, संचारकर्मी, उद्योगी, व्यवसायीको सहयोगले मात्रै हामी विकास गर्न सक्छौँ र त्यो वातावरण पनि यहाँ अहिले देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.