|

काठमाडौं : सातै प्रदेशका प्रमुखलाई आजकाल खासै चटारो छैन। भूमिका नै कम भएपछि चटारो होस् नै कसरी? खासमा उनीहरू फुर्सदमै छन्। कार्यालयमा न मारामार काम छ, न त भेटघाट नै बाक्लो चल्छ। त्यसैले, हिजो हरपल सक्रिय रहेका उनीहरूलाई आजको निस्क्रिय दैनिकी पट्यारिलो लाग्दै छ।

प्रदेश प्रमुखको कार्यालयमा सामान्यतः सचिवदेखि कार्यालय सहयोगीसम्म गरी १८ जनासम्म कर्मचारीको दरबन्दी हुन्छ। निजामती सेवाका सहसचिव कार्यालय सचिव रहन्छन्। २ उपसचिव, ७ शाखा अधिकृत र २ नायब सुब्बाको दरबन्दी हुन्छ। खरिदारलगायत अन्य पदमा पनि दरबन्दी हुन्छ। प्रमुखले निजी सचिवालयतर्फ भने १२ जनासम्म नियुक्त गर्न पाउँछन्।

प्रदेश १ : गोविन्दबहादुर तुम्बाहाङ

बिहान ५ बजे उठिसक्ने तुम्बाहाङलाई निवास छाडेर कार्यालय दगुर्नु पर्दैन। उनको घरमै छ कार्यालय छ। उठेर आधा घन्टाजति कम्पाउन्डमै ओहोरदोहोर गरेपछि एक झमट नुहाउँछन्।

‘बिहानको खाजा लिएपछि पत्रपत्रिकामा भुल्दाभुल्दै १० बजिसकेको हुन्छ। अनि, कार्यालयको कामतिर लाग्छु,’ प्रमुख तुम्बाहाङले भने, ‘सम्बन्धित कसैलाई केही काम पर्‍यो भने निवासमै पत्र लिएर आउँछन्।’

उनको दैनिकीमा भेटघाटको तालिका खासै हुँदैन। त्यसैले दिनभर फुर्सदिला हुन्छन्।

यो समय पुस्तक पढेर दिन छोट्याउँछन्। ‘दिउँसो कार्यक्रम हुँदैन, कहिलेकाहीँ हुने हो, त्यसैले दिउँसो व्यस्त हुन्नँ,’ तुम्बाहाङले सुनाए।

प्रदेश २ : रत्नेश्वरलाल कायस्थ​

पूर्वप्रशासक रत्नेश्वरलाल कायस्थ योजनाविद् पनि हुन्। संघीय समाजवादी फोरमको राजनीतिमा सक्रिय थिए। हिजोको दौडधुपपूर्ण जीवन आज फेरिएको छ। प्रदेश प्रमुख नियुक्त भएपछि जनकपुरमा दिन काट्न सजिलो लागेको छैन उनलाई।

कार्यालयमा खासै काम हुँदैन, कोही भेट्न आइदिए गफिने हो। कसैले बोलाइदिए कार्यक्रममा पुग्ने हो, तर यस्तो मौका मुस्किलले जुर्छ।


५ बजे उठ्ने कायस्थ प्रणायाम गर्छन् ७ बजेसम्म। ‘त्यसपछि करिब ४५ मिनेट जनकपुर क्षेत्रमै ३–४ किमी पैदल हिंड्छु र फर्किएपछि पत्रपत्रिका पढ्न थाल्छु,’ कायस्थले सुनाए। समाचार पढ्दापढ्दै १० बजिसक्छ, यो समयमा कहिलेकाहीँ भेटघाट पनि हुन्छ।

खाना खाइवरी कार्यालय पुग्ने उनी साँझ ५ बजेतिर मात्रै निवास फर्किन्छन्। तर, कार्यालयमा रहँदा दिन के गरी कटाउँ भन्ने हुन्छ।

कतै कसैले कार्यक्रममा बोलाएको दिन दिन बिताउन सजिलो भएको अनुभव उनले सुनाए। ‘२–३ दिनमा एउटा सामाजिक कार्यक्रममा निमन्त्रणा हुन्छ, उद्घाटन र शिलान्यास गर्छु,’ उनले भने।

प्रदेश ३: अनुराधा कोइराला

सामाजिक अभियन्ता अनुराधा कोइरालाको विगत निकै व्यस्त थियो। तर, प्रदेश प्रमुख भइसकेपछि बाध्यतावश उनी बन्धनमा छिन्।

संविधानले जुन पायो त्यो कार्यक्रममा जान र जहाँ पायो त्यहाँ निस्किन छुट दिएको छैन। अरू प्रदेश प्रमुखजस्तै कोइराला पनि आजकाल फुर्सदमै छिन्। ‘केही काम गरिरहनुपर्ने सक्रिय मान्छे हुँ, तर अहिले हैसियतले पनि धेरै सक्रिय हुन दिएन,’ उनले नयाँ पत्रिकालाई सुनाइन्।

दिउँसोको समयमा कहिलेकाहीँ उद्घाटन र शिलान्यासका लागि निम्ता आउँछन्। उनी पुग्छिन्। ‘निम्तो आएका केही सामाजिक कार्यक्रममा सहभागी हुन्छु त्यस्ता कार्यक्रम पनि धेरै हुँदैनन्,’ कोइरालाले सुनाइन्।

कार्यालयमा १० देखि ५ बजेसम्म रहँदा खासै काम हुँदैन। तर, नियमित जान त परिहाल्यो। कार्यालयमा उनको भेटघाट पनि खासै हुँदैन। राजनीतिक व्यक्तित्व नभएका कारण भेटघाटका लागि कमै पुग्छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.