गौशाला (महोत्तरी) : न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी। यो दृश्य हो, शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको।
जनता आधारभूत विद्यालयको हो। यो विद्यालय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल निर्वाचित भएको क्षेत्रमा पर्छ। यस्तै दुई पटक संविधानसभा सदस्य र अहिले प्रदेश सांसदमा निर्वाचित माओवादी केन्द्रका नेता भरतप्रसाद साहको पनि गाउँ हो यो। प्रतिनिधिसभा सांसद दिलकुमारी साहको गाउँ पनि यही हो।
गाईभैंसी, बाख्रा बाँध्ने गोठनजिकै एकै ठाउँमा बसेर कखरा पढ्छन् विद्यार्थी। झट्ट हेर्दा गोईभैंसीको गोठ हो कि विद्यालय खुुट्ट्याउनै मुस्किल पर्छ।
फूलकाहाको दलित मुसहर बस्तीमा ०६६ सालमा जनता आधारभूत विद्यालय खोलिएको हो। मुसहर बस्तीको सामुदायिक भवनलाई देखाएर विद्यालय दर्ता गरिएको थियो। विद्यालयको नाममा एक धुर पनि जग्गा छैन। कक्षाकोठा पनि छैन। भौतिक संरचनाबिनै जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालय सञ्चालन अनुमति दियो।
विद्यालय खुलेको ९ वर्ष बितेको छ। एउटा टेबल, दुई थान कुर्सी र एउटा ब्ल्याक बोर्ड मात्रै छ विद्यालयको सम्पत्ति। ब्ल्याकबोर्ड पनि फुटेर प्लाई उक्किसकेको छ।
मुसहर बस्तीको बीचमा गाउँलेको सामूहिक घर (दलान) मा बालबालिका राखेर पढाइन्छ। शिशु, एक र दुई कक्षाको पढाइ एकै ठाउँमा हुन्छ। दलानमा मुस्किलले ३० जना पढ्न सक्छन्। सबै विद्यार्थी आएका दिन बाहिरै बसेर पढ्नुपर्ने बाध्यता छ। दलानअगाडि गाईवस्तुको गोठ छ। त्यसकै नजिक बालबालिका राखेर पढाइन्छ। ‘दलानको छानो जीर्ण छ। छानोको टायल फुटेकाले छ्याङ आकाश देखिन्छ। बोरा ओछ्याएर १२ महिनै भुइँमा बसेर पढ्नुपर्छ।
बर्खामा पानी चुहिन्छ। गर्मीमा त दुःख(सुख पढ्छन् तर जाडोमा शीतलहरले पढ्न सक्दैनन् बालबालिका’, शिक्षिका सीतादेवी झाले भनिन्। दलानको छानोबाट पानी छुहिएर विद्यार्थीको कापी–किताब भिज्ने गरेको उनले बताइन्।
‘पुस्तौंदेखि शिक्षाबाट वञ्चित ५५ घर मुसहर समुदायका बालबालिकालाई पढाउन विद्यालय खोलियो तर उनीहरूको गाउँमा विद्यालय खुल्दा पनि लेखपढ गर्न पाएका छैनन्’, बस्तीका गौरावत्ती सदाले भनिन्।
नजिकै विद्यालय भए पनि उनीहरूको पहुँच विद्यालयमा छैन। बालबालिका पुगिहाले पनि टिक्दैनन्। न विद्यालयमा खेल खेल्ने मैदान छ, न पर्याप्त शैक्षिक सामग्री नै उपलब्ध छ। विद्यालयमा ४० बालबालिका छन्। यो वर्ष १२ जना भर्ना भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।