|

चितवन : चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरिया मुहानबाट शनिबार साँझ नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैंडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर)मा राखिएको छ।

निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहानबाट साँझ ६ बजे नियन्त्रणमा लिइएको गैंडाको बच्चा (केटो)लाई राति ११ः३३ बजे पिट बोमामा राखिएको हो। केटोलाई काठको खोरमा राखेर पिकअप भ्यानबाट सौराहा ल्याइएको थियो। गैंडा मात्रै अट्ने निश्चित आकारको खाल्डोमा चारैपट्टि काठैकाठले घेरेर बनाइएको खोर नै पिट बोमा हो। 

निकुञ्जको टोलीले पोथी नियन्त्रण गर्दा गर्दा करिब दुई वर्षको भाले केटो नियन्त्रणमा लिएको होे। केटोलाई बोमामा राख्ने बेला राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल, चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठक र चीनको चिमे लङ सफारीका सह­प्रवन्धक याङ सहभागी थिए। 

गैंडाको आनीवानी, अवस्था र नियन्त्रण प्रक्रिया बुझ्न याङ बैशाख ६ देखि चितवन निकुञ्जमा छन्। केटोलाई करिब एक महिना पिट बोमामा राखेर खानेकुरा दिई बानी पारेपछि पुनः अर्काे ठूलो बोमामा राखिने कोषका प्रमुख अर्यालले जानकारी दिए। दुई जोडी गैंडा राख्नका लागि दुई वटा पिट बोमा र दुई वटा ठूलो बोमा तयार भएको छ। 

अर्काे एउटा पनि पिट बोमा बनाउने तयारी छ। चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभियन पाठकका अनुसार दोस्रो बोमामा सारेपछि पनि केही समय राखिने र आगामी असारभित्र गैंडालाई चीन पठाइनेछ।

गैंडा नियन्त्रणका लागि बैशाख ६ देखि चिनिया प्रतिनिधिसहितको टोलीले प्रक्रिया सुरु गरेको हो। टोलीमा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसहित ५० जना खटिएका छन्। 

नियन्त्रणका लागि दशवटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। निकुञ्जबाट एक भालेसहित दुई पोथी नियन्त्रणमा लिएपछि सौराहामा रहेको एउटा भाले केटोसहित चार वटा गैंडा चीन पठाइनेछ । गैंडा नियन्त्रण टोली भने अर्काे समाउन निकुञ्जमै रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.