|

चितवन, लोथर (कालिटार) :  चितवनको विकट क्षेत्र राप्ती नगरपालिकास्थित लोथरको कालिटारका बालबालिकाहरू भेडा-बाख्राझैँ कोचिएर पढ्न बाध्य छन्। राप्ती नगरपालिका-१३ स्थित राष्ट्रिय आधारभूत विद्यालय कालिटारको पुरानो भवनमा बनेको सानो कक्षा कोठामा उनीहरू यसरी एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका हुन्। 

बढीमा १० देखि १५ जनासम्म अट्ने एउटा शिशु कक्षामा ५० जना बालबालिका एकै ठाउँमा पढिरहेका छन्। उनीहरूलाई एकजना सहयोगी कार्यकर्ता मायाँनाथ प्रजाले पढाउँदै आएका छन्। उनीहरुका लागि सेक्सन छुट्याउनु पर्ने अति जरुरी भए पनि शिक्षक र कोठा अभावले समस्या परेको विद्यालयले जनाएको छ। 
पुरानो भवनको  काेठामा थोत्रो कार्पेट विच्छ्याइएको छ। त्यसमा ४ वटा टेवल राखिएका छन्।

बालबालिकाहरू कार्पेटमा कोचिएर बस्न बाध्य छन्। एउटै टेवल घेरेर १२ बालबालिका कोचाकोच गरेर पढिरहेका थिए। घुँडा धसेर लहरै बसेका उनीहरूलाई चल्न चटपटाउन समेत मुस्किल देखिन्थ्यो।

कक्षा कोठाको अवस्था हेर्दा अक्सिजन समेत पाउन मुस्किल झैं थियो। तैपनि त्यसैमा कोचिएर बस्न बाध्य थिए बालबालिका। उनीहरूका लागि कम्तिमा दुईजना शिक्षक हुनुपर्नेमा एक जना सहयोगी कार्यकर्ताले काम चलाइरहेका छन्।  स्कुलका प्रधानाध्यापक दिपककुमार श्रेष्ठ कक्षा कोठा र डेस्क बेच्नको अभावका कारण सहज रुपमा पठनपाठन गराउन नसकिएको स्वीकार्छन्। अघिल्लाेवर्ष त्यही शिशु कक्षामा १९ जना बालबालिका थिए। पठनपाठन केही सहज थियो । तर यो वर्ष भने विद्यार्थीहरू बढेकाले समस्या परेको हो। बाल बालिकालाई घरदैलो गरेर ल्याइएकाले अहिले शिशु कक्षादेखि तीनसम्म १६२ जना विद्यार्थी पुगेको प्रअ श्रेष्ठ बताउँछन्। एकदेखि तीनसम्म मात्रै ११२ जना बाल बालिका पढ्छन्। अघिल्लो वर्ष भन्दा यो वर्ष अन्य कक्षामा समेत विद्यार्थी बढेका छन्।

आर्थिक अभावका कारण बन्दै गरेको नयाँ भवनले पूर्णता पाउन सकेको छैन। त्यसैले कसैले सहयोग गरिदिए विद्यार्थीको पठनपाठन सहज गराउनु हुन्थ्यो भन्छ्न् प्रअ श्रेष्ठ। पर्याप्त डेस्क, बेच्न नहुँदा अन्य कक्षामा समेत विद्यार्थीहरू सकस गरेर पठनपाठन गर्दै आएका छन्। तै पनि अहिले विद्यालयले कक्षा चार सञ्चालन गर्ने तयारी गरिरहेको छ। विद्यालयका शिक्षक चित्रबहादुर श्रेष्ठ विद्यालयमा कक्षा, कोठा, डेस्क, बेच्नसहित पढाउने शिक्षकको समेत अभाव रहेको बताउँछन्।

नियमावलीमा १२० भन्दा बढी विद्यार्थी भएको स्कुलमा चारजना शिक्षक आवश्यक हुन्छ। तर उक्त स्कुलमा राहतका दुईजना शिक्षकले पढाउँदै आएका छन्। २० जना भन्दा माथि विद्यार्थी भएको शिशु कक्षामा दुईजना सहयोगी कार्यकर्ता राख्नुपर्ने नियमावलीमा भए पनि राख्न नसकिएको प्रअ दिपक श्रेष्ठले बताए।

दरबन्दीका शिक्षक समेत शिक्षा कार्यालयले दिन नसक्दा समस्यामा परेको उनले जानकारी दिए। जसका कारण शैक्षिक नतिजा समेत प्रभावकारी हुँदैन। यसतर्फ राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल र वडा १३ का वडाध्यक्ष सूर्य चेपाङसँग स्कुलले समस्या राखेको छ।

वडाध्यक्ष चेपाङले भने, ‘अधिकांश चेपाङका छोरा छोरी पढ्ने स्कुलमा नीजि स्राेतबाट शिक्षक पनि राख्न सकिन्न, सरकारले पनि शिक्षक दिएको छैन, कसरी हुनु प्रभावकारी शिक्षा। नगर प्रमुख प्रभा बराल अब नगरपालिकाले आवासीय रुपमा चेपाङलाई राखेर पढाउने योजना बनाएको बताउँछिन्। बरालले नगरपालिकाले शिक्षा नै विकासको पहिलो आधार भएकाे बताइन्। 

चितवनको विकट क्षेत्रमा चेपाङ समुदायको बसोबास छ। उनीहरू ६ महिना अनिकाल र छ महिना सहकालमा जीवन बिताउँछन्। चेपाङ समुदायमा अन्नको अभावमा बालबालिका समेत स्कुल जान समस्या छ। जिल्ला शिक्षा कार्यालयले साक्षरता प्रतिशत ९९.५० रहेको दावी गरे पनि चेपाङ गाउँमा भने विद्यालय बीचैमा छाड्ने बालबालिकाको संख्या भने बढ्दो छ। स्कुलको पहुँचमा नपुग्ने बालबालिकाहरू समेत विकट क्षेत्रमा भेटिन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.