|

प्रदेश-२ मै एक मात्र महिला नगर प्रमुख हुन्, रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह। महिला नगर प्रमुख भए पनि पुरुष नगरप्रमुख भएको नगरभन्दा विकसित नगर बनाउने उनको लक्ष्य छ। रिनाकुमारी माओवादी नेता प्रभु साहकी पत्नी भएका कारण पनि यो नगरलाई विशेष महत्त्वका साथ हेरिएको छ।

निर्वाचित भएको सात महिना बितिसकेको छ। कतिपय स्थानीय तहहरूले कानुन अभावमा उल्लेखनीय काम गर्न सकेका छैनन्। स्थानीय तहहरूले सरकारसँग काम गर्न पनि माग गरिरहेका छन्। मौलापुर नगरपालिकको विकासमा चाहिँ कस्ता चुनौती, सम्भावना र अवसरबारे नगर प्रमुख साहसँग थाहाखबरका रौटहट संवाददाता रमेश तिमल्सिनाले गरेको कुराकानी :

निर्वाचनका समयमा तपाईंले गर्नुभएको प्रतिबद्धता कति पूरा गर्नुभयो?

समग्रमा मैले निर्वाचनमा हाम्रा नगरवासीबीच हुने र पुग्ने मात्र प्रतिबद्धता गरेको थिएँ। केही पूरा भएका छन्, भने केही पूरा हुने क्रममा छन्। केही काम भने लामो समयसम्म लाग्ने सक्ने हुँदा त्यस्ता कामका योजनाहरू बनाउने काम भइरहेका छन्। मैले जनतामाझ गरेका प्रतिबद्धताहरू मेरो कार्यकालमा पूर्णरूपमा सम्पन्न गर्नेछु। यस कार्यमा सबैले साथ र समर्थन दिइरहनुभएको छ। 

मेरा प्रतिबद्धतामध्ये ‘सडक सञ्जालको विस्तार,समग्र नगर विकासको आधार’ भन्ने मान्यताको साथ यस नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गरेको छु। जसअनुसार प्रत्येक घरलाइ व्यवस्थित सडक सञ्जालमा जोडिनेछ।

त्यसका लागि तीन करोड बजेटसमेत विनियोजन गरेकी छु। त्यस्तै, मौलापुर नगरलाई धुँवामुक्त नगर बनाउने लक्ष्यका साथ हरेक घरधुरीमा ग्यास सिलिन्डर र चुलो वितरण अभियानलाई निरन्तरता दिएकी छु। रौतहटमै पहिलो खुला दिसामुक्त नगर बनाउन पनि म सफल भएकी छु।

हरेक घरघरमा शौचालय निर्माण गर्ने लक्ष्यलाई पूरा गर्न शौचालय बनाउनका लागि विपन्न परिवारलाई आवश्यक सामग्री उपलब्ध गराएकी छु। यसैगरी, बसपार्क, पोलिटेक्निक कलेज, मालपोत कार्यालयको शिलान्यासलगायत काम गरिसकेको छु। 

नगर विकासमा प्रमुख रूपमा के के समस्या रहेछन्?

केही समस्याहरू छन्, जो चाँडै नै काम हुन सक्दैनन्। जस्तो स्मार्टसिटी निमार्णका कुराहरू छन्। जसका लागि नगरमा चक्रपथ निर्माण, प्राविधिक शिक्षालयको निर्माण, भौतिक संरचनाको निमार्णलगायतका कुराहरू छन्।

त्यसका लागि मन्त्रालयहरूसँग पहल भइरहेका छन्। आशा छ ती समस्याहरू पनि चाँडै नै पूरा हुनेछन्। स्मार्टसिटी निमार्णका लागि सहरी विकास मन्त्रालयमा काम भइरहेको छ। बकैया नदी पनि यो नगरको ठूलो समस्या हो। जसका कारण वर्षायममा यहाँका जनताले ठूलो क्षति ब्यहोर्नुपरेको छ।

स्थानीय तह सञ्चालनका लागि कस्ता कानुन आवश्यक पर्छ?

स्थानीय तह सञ्चालनका निम्ति धेरै समस्याहरू छन्। नीतिगत समस्याका कारण कतिपय कामहरू गर्न सकिँदैन। स्थानीय तहबारे प्रदेश सरकारले गर्ने नीतिगत निर्णयहरूले पनि काम गर्न समस्या आएको छ।

प्रदेश सरकारले पूर्णता पाएको भएता पनि प्रदेश सरकारसँग स्थानीय तहको समन्वय हुन सकेको छैन। धेरै कानुनहरू बाझिएका छन् त्यसबारे पनि स्थानीय तह अन्यौलतामा छ। यता, स्थानीय तहमा सबै प्रकारका कार्यालयहरू आउने क्रम धमाधम छन्। 

ती कार्यालयहरूको व्यवस्थापन गर्न पनि धेरै कठिनाइ छ। दरबन्दीअनुसारको कर्मचारीको अभावले गर्दा विकास निमार्णका काम गर्न कठिनाइसमेत परेको छ। 
तपाई‌ं प्रदेश-२ कै एक्ली नगर प्रमुख, काम गर्ने क्रममा महिला भएकै कारण केही समस्या आएका छन्?

महिला भएकै कारण मलाई नगरपालिकाको काम कारबाहीमा कुनै किसिमको असहजता परेको छैन। महिलाले पनि गरेर देखाउँछन् भन्ने पुष्टि गर्ने मेरो अठोट छ। त्यसैले म मेरो नगरलाई पुरुष नगर प्रमुखभन्दा विकसित बनाएर देखाउँछु। मौलापुर नगरपालिकालाई प्रदेश-२ कै नमुना नगरको रूपमा चिनाउने मेरो लक्ष्य छ। यो मेरा लागि अवसर पनि हो। 

तपाईंका पाँच वर्षे योजनाहरू के के छन्?

‘मौलापुर नगरपालिकाको समृद्धिको आधार कृषि, शिक्षा र भौतिक पूर्वाधार’ भन्ने मूल नाराका साथ विभिन्न योजनाहरू छनोट गरिएका छन्। जुन यो नगरलाई समृद्ध नगर बनाउने लक्ष्यका साथ गत माघमा सम्पन्न नगरसभाले विभिन्न योजनाहरू बनाउने लक्ष्य लिएको छ।

खासगरी सडक सञ्जाललाई मुख्य राजमार्गसँग जोड्ने, गुणस्तरीय खानेपानीको लागि एक घर एक धारा निमार्ण गर्ने, ‘स्वच्छ सहर हमर नगर’को नारा अवलम्बन गर्दै प्रत्येक घरमा नाला (ढल) र एक घर एक रूखको कार्यक्रम सञ्चालन गर्ने, एक सय शय्याको अस्पताल निर्माण गर्ने, एक घर एक रोजगार मान्यताका साथ प्रत्येक घरबाट एकजनालाई सीपमूलक व्यावसायिक शिक्षा दिनेलगायतका योजनाहरू छन्। यी योजना पूरा गर्नु नगरपालिकाको एउटा चुनौती पनि हो।

यी समस्या समाधानमा कसले के गर्नुपर्ला?

यी विकासका कामहरूको समस्याको समाधान सबै तहतपकाले सहयोग र साथ दिनुपर्छ। नगरपालिकाले गर्नसक्ने कामहरू हामी आफैँले नै गर्छौं, तर हाम्रो क्षमताभन्दा माथिका योजना प्रदेश सरकार र संघीय सरकारले नै गर्नुपर्छ।

अस्पताल निर्माण, सरकारी कार्यालयका भौतिक पूर्वाधारहरूको निर्माण, ठुल्ठूला सडक तथा पुल निर्माणजस्ता योजना सम्बन्धित मन्त्रालयले नै सहयोग गर्नुपर्ने भएकोले हामी सहकार्य गर्छौं र गरिरहेका पनि छौँ। प्रदेश सरकारले गर्नसक्ने कामहरू हामीले प्रदेश सरकारबाट लिनुपर्ने हुन्छ त्यसका लागि पनि हामी समन्वय गरिरहेका छौँ।

यो नगरलाई समृद्ध नगर बनाउने अभियानमा सबैले साथ दिनुपर्छ। अन्य नगरको तुलनामा सुविधासम्पन्न नगर बनाउने मेरो लक्ष्य हो, यो लक्ष्यलाई पूरा गर्न आमनगरवासीको सहयोग र साथको आवश्यक पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.